काठमाडौँ । विद्यालय तहका किशोरहरूलाई लक्षित गरी सञ्चालित ‘वीमेन क्लब जुनियर्स’ परियोजना दोस्रो चरण सम्पन्न भएको छ । २०८१ जेठ– २०८२ असारसम्म सञ्चालन भएको यो परियोजना ‘हामी दाजुभाई’ संस्थाद्वारा डीकेए अष्ट्रियाको साझेदारी ललितपुर महानगरपालिकाको समन्वयमा संचालन गरिएको थियो । परियोजनाको समापन कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा ५५ जना किशोर किशोरीको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य किशोरहरूमा सकारात्मक पुरुषत्व, लैंगिक समानता, आत्मअनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु रहेको वीमेन क्लब जुनियर्स परियोजना संयोजक वर्षा थापामगरले जानकारी दिइन् ।

समापन कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै पाटन हाइस्कुलका रनेश चौधरीले ‘पहिले घरायसी काम महिलाको मात्र हो भन्ने धारणा’ रहेको बताए । उनले भने, ‘पहिले घरायसी काम गर्ने जिम्मेवारी महिलाको मात्र हो भन्ने सोच थियो तर, अहिले वीमेन क्लबमा सहभागी भएपछि मेरो सोचमा ठूलो परिवर्तन आयो । मैले अहिले घरायसी काममा पनि सघाउने गरेको छु ।’
त्यस्तै दैलेखका सुरेश थापा, जो हाल ललितपुरको टिका विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत छन्, उनले पुरानो एक साथीको घटनाको स्मरण गरे । ‘कक्षाकी एक छात्रालाई मन पराएकोमा वर्ण र क्षेत्रीय पहिचानकै आधारमा गिज्याइएपछि साथीले विद्यालय नै परिवर्तन गर्न बाध्य हुनुभयो ,’ उनले सुनाए ।

उनले थपे, ‘कोही कहाँ जन्मिन्छ, कस्तो वर्ण वा कदको हुन्छ भन्ने कुराले कुनै पनि व्यक्तिको सम्मान र गरिमा घटाउँदैन । सबैको रगत एउटै हो – रातो ।’
बालविवाहको मुद्दामा सचेतना फैलाउँदै एक सहभागीले गाउँ जाँदा देखेको घटना सुनाए । नावालिकाको विवाहको तयारी भइरहेको देख्दा, उनले आफ्नी आमालाई सो विवाह रोक्न पहल गर्न सुझाएको बताए । ‘तर आमाले भने, अरूको निजी विषयमा दखल दिनु हुन्न । यस्तो प्रतिक्रिया सुन्दा निकै पीडित भएँ,’ उनले भने ।
थापाले यस्तो ज्ञान ललितपुरमा वा नेपालको एउटा कुनामा मात्र सिमीत नभएर देशका सबै ठाउँमा संचालन गर्नुपर्ने बताए । उनले भने, ‘हामीले पाएको ज्ञान वास्तवमा मेरो आमा, कर्णाली र सिङ्गो राष्ट्रलाई नै आवश्यक छ र यस्तो ज्ञान नेपालका सातवटै प्रदेशका जिल्लामा संचालन गर्नु आवश्यक छ ।’
साथै थापाले पहिले आफ्नो घरमा महिनावारी बार्ने चलन रहेको र वीमेन क्लबमा जोडिएपछि घरमा सम्झाई–बुझाई गरेपछि महिनावारी बार्ने चलन हटाएको बताए । पहिले मेरो घर र घर वर–पर महिनावारी बार्ने चलन थियो,’ उनले भने, ‘वीमेन क्लबमा बसेपछि यसारे धेरै कुरा सिक्न बुझन पाएँ र घरमा गएपछि यसबारे परिवारलाई सम्झाई –बुझाई गरेपछि अहिले सबै जना सुरक्षित स्थान घरमै बस्नुहुन्छ ।’
त्यस्तै, अर्का सहभागी महेन्द्र आदर्श माध्यमिक विद्यालयका सुयोग काफ्लेले क्लबका २३ सत्रहरूमा सहभागी हुँदा आफुमा धेरै परिर्वतन आएको भन्दै हामी दाजुभाई संस्था र वीमेन जुनियर्स क्लबलाई धन्यवाद दिए । आज ममा यस्तो परिर्वतन आउनुको मुख्य श्रय वीमेन क्लबनै हो,’ उनले भने, ‘पहिले म दुइचारजनाको अघि आफ्नो विचार निर्धक्कसँग राख्न समेत नसक्ने आज म आफ्ना विचारहरु निर्धक्क राख्ने भएको छु ।’
साथै उनले पहिले समाजमा घरायसी काम सबै महिलाले मात्र गर्नुपर्छ भन्ने सोचे गर्ने कामलाई पुरुषले गर्नु हुँदैन भन्ने सोच थियो,’ उनले भने, ‘तर, अहिले म त्यो सोचबाट मुक्त भएको छु र व्यवहारमा परिवर्तन ल्याउन थालेको छु ।’

परियोजना अन्तर्गत ललितपुरका विभिन्न विद्यालयमा सत्रहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले सिर्जनात्मक अभ्यास, संवाद, सामूहिक छलफल र मूल्य शिक्षाका माध्यमबाट परिवर्तन र सामाजिक चेतनाको विकास गरेको आयोजकले जनाएको छ ।
पहिले क्लवको सुरुवातमा भाइबहिनीहरुसँग भेट्दा देख्दा लजाउनुहुन्थ्यो आज उहाँहरुकै मुखारविन्दुबाट प्रत्यक्ष अनुभव सुन्दा खुशी लागेको ललितपुर महानगरपालिका वडा नम्बर – ६ का सदस्य एवंम सामाजिक विकास समिति शाखा सदस्य बालअधिकार समिति अध्यक्ष उमा बज्राचार्यले बताइन् । आगामी दिनमा पनि वडाबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता उनले जनाइन् ।

हामी सबै जनप्रतिनिधि यो कार्यक्रमबाट निकै नै खुशी हुनुपर्छ,’ उनले भनिन्, ‘हाम्रो महालक्ष्मी, गोदावरी, र ललितपुरका २९ वटै वडामा बजेटका लागि अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रममा ललितपुर महानगरपालिका महिला विकास शाखा प्रमुख शोभा देवी खरेलले ‘वीमेन क्लब जुनियर्स’ परियोजनाबाट किशोरहरूलाई प्रदान गरिएको शिक्षा अत्यन्त सराहनीय भएको बताइन् ।
उनले भनिन्, ‘लैंगिक समानता, प्रजनन स्वास्थ्य, सामाजिक मूल्य–मान्यता, र महिला–पुरुष बराबरीका विषयहरू विमेन क्लबमार्फत सिकाइँदो रहेछ भन्ने कुरा सुन्दा मलाई निकै खुशी लाग्यो ।’
उनका अनुसार अतीतमा यस्ता विषयवस्तुहरू प्रायः महिलाहरूलाई मात्र लक्षित गरेर सिकाइन्थ्यो । ‘सन १९८० को दशकदेखि यस्ता विषय महिलाहरूलाई मात्र सिकाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘पुरुष र बालकहरूलाई भने यस्ता विषयहरूबाट अलग राखिन्थ्यो । तर, अहिले किशोरहरूलाई लक्षित गरी उनीहरूलाई ‘चेन्ज एजेन्ट’ अर्थात् परिवर्तनका अगुवा बनाउने यो प्रयास अत्यन्त सकारात्मक र आवश्यक छ ।’

खरेलले यस्ता कार्यक्रमलाई अन्य विद्यालयहरूमा पनि विस्तार गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्दै, सहभागी किशोरहरूबाट समाजमै सकारात्मक परिवर्तनको सन्देश फैलन सक्ने विश्वास व्यक्त गरिन् ।
पहिलो वर्ष वीमेन क्लब जुनियर्स ललितपुर महानगरपालिका वडा नम्बर ६, ८, ९, ११, १७, १८ मा सञ्चालन भएको थियो । दोस्रो वर्ष महालक्ष्मी नगरपालिका ४, ८ र गोदावरी नगरपालिका ८, र ११ र ललितपुर महानगरपालिका २, ६ नम्बर वडामा सञ्चालन भएको र र्को चरण आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने वीमेन क्लव जुनियर्स कार्यक्रम संयोजक वर्षा थापा मगरले जानकारी दिइन् । उनका अनुसार ललितपुर जिल्लाका १२ वटा विद्यालयमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।






