काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रमको बहानामा नेपाली गएर उतै बसेको भन्ने आफ्नो अभिव्यक्तिको बचाऊँ गरेपछि एमाले सचेतक सुनिता बरालले आपत्ति जनाएकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर गौतमले मंगलबार आफूले बोलेको विषयलाई बङ्ग्याइएको आफ्नो भनाइ संसद्को रेकर्डबाट नहटाउन चुनौती दिएकी हुन् । ‘मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका फर्किएनन् भनेका छैन, स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिस कार्यक्रमको बहानामा गएर नफर्किएको भन्ने खालका समाचार आएका छन् भनेकी थिएँ,’ गौतमले भनिन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डल फर्किए पनि, प्रधानमन्त्री गएको कार्यक्रममा गएका सयौं व्यक्तिहरू नफर्किएको गौतमले पुनस् जिकिर गरिन् ।
गौतम बोल्दै गर्दा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले उठेर विरोध जनाइन् । उनले प्रधानमन्त्रीको टीमको फेहरिस्त दिन तयार रहेको बताउँदै बारम्बार संसद्मा उही गल्ती नगर्न रास्वपा सांसदलाई चुनौती दिइन् ।
सरकार प्रमुखले राष्ट्रको गौर बढाएर आउँदा किन छटपटी भयो ? तपाईंहरूको राष्ट्रप्रेम हामीले पटक-पटक देखिसकेका छौं, देखिरहेका छौं । यति धेरै छट्पटाहट किन भएको हो र? प्रश्नको जवाफ माग्न चाहन्छु र गल्ती नदोहोर्याउन चुनौती दिन्छु,’ बरालले भनिन् ।
गौतमले प्रधानमन्त्रीसँग गएका मानिस नफर्किएको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै एमाले सांसदले हिजो पनि संसद्मा आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्यको विवरण सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री ओली राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन असार १४ स्पेन गएर १९ गते स्वदेश फर्केका थिए ।