काठमाडौँ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका(२ स्थित रसुवागढी नाका क्षेत्रमा मंगलबार विहान आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। रसुवागढीमा रहेको प्रहरी चौकीका अनुसार बिहान करिब ३ बजेबाट बाढी आउन सुरू भएको थियो।
बिहान ४ बजेसम्म आइपुग्दा नेपाल र चीन जोड्ने मितेरी पुल बाढीले पूर्ण रुपमा बगाएर क्षति पुर्याएको छ। यसका कारण मानिस तथा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, बिहान ४ बजेर ४० मिनेट जाँदा बाढीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ मै रहेको ईभी चार्जिंग स्टेशनमा क्षति पुर्याएको छ। करिब ७/८ वटा ईभी गाडीहरु बाढीले बगाएको प्रहरी चौकी रसुवागढीले जनाएको छ।
रसुवा भन्सार कार्यालयको यार्डमा समेत बाढीका कारण क्षति पुगेको छ भने रसुवागढी हाईड्रोपावरको ड्याममा पनि क्षति भएको प्रहरीले निकालेको क्षतिको विरणमा उल्लेख छ।
घटनामा उद्धार कार्यका लागि खटिएका प्रहरी कर्मचारीहरुमध्ये ईलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट खटिएका प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका छन्।
बाढी आउनासाथ बिहान ३ बजेर ३० मिनेटबाटै उद्धार कार्य सुरू गरिएको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्ण बहादुर धितालको कमाण्डमा २० जना, ईलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी नायव निरिक्षक धन बहादुर तामाङको कमाण्डमा २८ जना उद्धार कार्यमा खटिएका छन्।
यसका अलावा प्रहरी चौकी रसुवागढीका प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन महत गिरीको कमाण्डमा १२ जना, प्रहरी चौकी स्याफ्रुबेसीबाट ८ जना, प्रहरी चौकी हाकुबाट ७ जना, सशस्त्र प्रहरी पोष्ट प्रमुख मैलुङबाट ९ जना र प्रहरी चौकी बेत्रावतीबाट १० जना गरी जम्मा ९४ जनाको प्रहरी टोली उद्धार कार्यमा खटिएको छ।
उद्धार कार्यका क्रममा हालसम्म नौ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी बल नेपालका कर्मचारी र ७ जना स्थानीयहरू रहेका छन्।
यस घटनामा हालसम्म तीन जना प्रहरी कर्मचारी, ९ जना नेपाली र ६ जना चिनियाँ गरी जम्मा १८ जना सम्पर्कविहीन रहेको रिपोर्टमा उल्लेख छ।
बाढीका कारण गोसाइकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडक खण्ड स्थितमा सडक चर्किएर धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरोध भएको छ। बाढी तथा त्यसबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ भने उद्धार कार्य जारी रहेको छ।