काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले कारागारमा रहेका एक व्यक्तिको याचनापत्र अनुसार नाटकीय हस्ताक्षर अभियान जारी रहेको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन् ।
‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ । ७ असार २०८२ मा नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । त्यसलाई मैले याचना पत्र भनेको छु’ उनले भने, ‘त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ ।’
उनले थपे, ‘सर्वोच्च, उच्च र जिल्ला अदालतमा आधा दर्जन भन्दा बढी मुद्दा चलिरहेका छन् । त्यसलाई प्रतिशोध भन्ने कि राजनीति, प्रतिशोध भन्दै अहिले हस्ताक्षर भएको छ त्यो खासमा राजनीति हो ।’
रास्वपा र सभापति लामिछानेप्रति लक्षित गर्दै उनले हस्ताक्षर अभियानलाई राजनीतिक प्रचार र प्रोपोगाण्डा भएको बताए ।
‘राजनीतिक प्रोपोगाण्डा हो, राजनीतिक प्रचार हो र आफ्नो रोटी सेक्ने उपक्रम हो । सर्वोच्च अदालतबाट समेत त्यसबारेमा जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन,’ उनले भने, ‘अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्दछ । यो कुरा हेक्का राख्न आग्रह गर्न चाहन्छु ।’
सांसद थापाले जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको टिप्पणी गरे ।