काठमाडौँ । नेपाल हक्की संघको आयोजनामा आयोजित प्रथम हक्की ‘५ ए साइड’ राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार मध्यपुर थिमिमा सम्पन्न प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।
प्रतियोगिताको विजेता टोली आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम प्रदेशले २५ हजार रुपैयाँ पायो ।
प्रतियोगिताको उदयमान खेलाडीको उपाधि वाग्मतीकी सपना स्याङ्बोले जितेकी थिइन् । त्यसैगरी, व्यक्तिगत विधातर्फ आर्मीकी सरस्वती तामाङ उत्कृष्ट खेलाडी, सुदूरपश्चिमकी पूर्णिमा नेगी उत्कृष्ट रक्षक, आर्मीकी किपर कुष्माराना मगर र सुदूरपश्चिमकै आशिका एसके उच्च गोलकर्ता चुनिइन् ।
नेपालमै पहिलोपटक '५ ए साइड' प्रणलीमा आयोजित प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सेनाको त्रिभुवन आर्मी क्लब गरेर ६ टोली सहभागी थिए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले गरेका थिए । समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा र हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले उत्कृष्ट खेलाडी र च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरे ।