दैलेख । शैक्षिक सत्र २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा दैलेखको शिक्षा क्षेत्रमा गम्भीर चिन्ता पैदा गर्ने खालको नतिजा सार्वजनिक भएको छ । जिल्लाका ११ स्थानीय तहबाट सहभागी भएका ४ हजार ७७५ जना विद्यार्थीमध्ये जम्मा १ हजार ९३ जना मात्र उत्तीर्ण भएका छन् । बाँकी ३ हजार ६८२ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो समग्रतामा हेर्दा जिल्लाको उत्तीर्ण दर केवल २२.८९ प्रतिशतमा सीमित रहेको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष त के हो भने जिल्लाका १२ विद्यालयबाट सहभागी भएका २८६ विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् । यी विद्यालयहरू सात वटा स्थानीय तहमा रहेका छन्, जसमा चामुण्डाबिन्द्रासैनी नगरपालिका र नौमुले गाउँपालिका सबैभन्दा बढी अनुत्तीर्ण विद्यालय भएका पालिकाका रूपमा देखिएका छन् ।
१२ विद्यालयको पूर्ण शून्य नतिजा
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको धर्मदेव माध्यामिक विद्यालय आयरपाटा र जनता माध्यामिक विद्यालय मस्टामाण्डुबाट ५५ विद्यार्थी सहभागी भए पनि सबै अनुत्तीर्ण भएका छन् । नौमुले गाउँपालिकाका अरनिको माध्यामिक विद्यालय चौराठा, कालिका माध्यामिक विद्यालय बांगेटिमुरे, र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ठानडाँडाका ७० जना विद्यार्थी पनि पूर्णरूपमा असफल भएका छन्।
यसैगरी, गुराँस गाउँपालिकाका दुर्गा माध्यामिक विद्यालय पुलिया र महादेव माध्यामिक विद्यालय तल्लो डुङ्गेश्वर, डुङ्गेश्वर गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय हनेटा, महावु गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गिताचौर, र भैरवी गाउँपालिकाको महादेव माध्यामिक विद्यालय पानीपोखरामा पनि शून्य नतिजा आएको छ ।
भगवतीमाई अगाडि, चामुण्डा सबैभन्दा पछाडि
पालिका अनुसार विश्लेषण गर्दा भगवतीमाई गाउँपालिकाले सबैभन्दा अगाडि रहेको छ । यहाँका ३४८ सहभागी विद्यार्थीमध्ये १८५ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण दर ५३.१६ प्रतिशत हो ।
त्यसपछिका पालिकाहरूमा डुङ्गेश्वर गाउँपालिका ३९.०८, नारायण नगरपालिका ३६.४७, र गुराँस २५.४९ पालिका क्रमशः छन् । आठबीस नगरपालिकामा २२.३७ प्रतिशत, ठाटीकाँधमा १८.६२ प्रतिशत, महाबुमा १७.२१ प्रतिशत, भैरवीमा १४.९७ प्रतिशत, दुल्लुमा १३.४१ प्रतिशत, नौमुलेमा १२.६३ प्रतिशत र अन्तिममा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा जम्मा ७.३१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् जिल्ला शिक्षा तथा समन्वय इकाई दैलेखले जनाएको छ ।
प्राविधिक धारको अवस्था पनि चिन्ताजनक
एसईईमा प्राविधिक धारबाट १९६ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ६८ जना मात्र उत्तीर्ण भएका छन् भने १२८ जना अनुत्तीर्ण भएका छन ्। साधारण र प्राविधिक दुबै धारलाई समेट्दा ४ हजार ७७५ जना सहभागीमध्ये ३ हजार ६८२ विद्यार्थी अनुत्तीर्ण हुनु अत्यन्तै गम्भीर समस्या भएको शिक्षा विज्ञहरू बताउँछन् ।
४ जिपीए र एप्लस ल्याउने २० जना मात्र
एसईईमा ४ जिपीए र एप्लस ल्याउने विद्यार्थीको संख्या पनि निकै न्यून छ । जिल्लाका १३ विद्यालयका जम्मा २० विद्यार्थी मात्र यस्तो श्रेणीमा परेका छन । तीमध्ये नारायण नगरपालिकाको फुलबारी विद्यामन्दिरमा ४ जना, मोडेल स्कुलमा ३ जना, त्रिभुवन माध्यामिक विद्यालय दैलेखमा २ जना, र पशुपति माध्यामिक विद्यालय छेपाडीबाट २ जना रहेका छन् ।
अन्य विद्यालयहरूमा १÷१ जनाले मात्रै ४ जिपीए प्राप्त गरेका छन् । सबैभन्दा उल्लेखनीय नाम त्रिभुवन माध्यामिक विद्यालयकी छात्रा सिवानी शाही ठकुरी रहेकी छिन्, जसले ४ जिपीए ल्याएकी छन् ।
जिम्मेवार को ?
एसईईको कमजोर नतिजाको जिम्मेवारीका विषयमा विभिन्न पक्षबाट फरक मत आएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका ४ स्थित धर्मदेव माध्यामिक विद्यालयका प्रधानाध्यापक कनक बहादुर शाहीले भने, “हामीले पढाएका थियौं, तर विद्यार्थीले लेख्न सकेनन् ।”
त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ मा रहेको जनता माध्यामिक विद्यालयकी प्रधानाध्यापक गौरी कुमारी शाहीले अभिभावकहरूको चासोको अभावलाई दोष दिइन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेश कुमार शाहीले भने नतिजा कमजोर आउनुमा सबै पक्ष दोषी भएको बताएका छन ्। “पालिकाले सबै विद्यालयमा आवश्यक संरचना, आइसिट्,ि पुस्तकालय, गणित, विज्ञान र अंग्रेजीका शिक्षक पठाएकै छ,” उनले भने, “तर, पनि विद्यालयको नतिजा कमजोर आउनु अत्यन्त दुःखद हो ।”
शाहीले थपे, “विद्यालय र अभिभावक दुवैको जिम्मेवारी हो । वर्षभरि भारत जानु, विद्यार्थीको नियमितता नहुनु, र शिक्षाप्रति अभिभावकको उदासीनता मुख्य समस्या हुन ।” उनका अनुसार अब पालिकाले गम्भीर छलफल गर्दै सुधारका योजना कार्यान्वयन गर्ने बताए ।
अब के गर्ने ? सुधारका उपायहरू
‘सङ्घीयतामा शिक्षा’ पुस्तकका लेखक डा मिन बहादुर शाहीले दरबन्दी अनुसारका शिक्षक नभएको र अपर्याप्त व्यवस्थापन रहेको बताए । अर्को समस्या भनेको वर्षभरि पढाइ नहुनु र विद्यार्थीको पढाईको जग नै कम्जोर छ,’उनले भने, ‘यस्को मुख्य कम्जोरी भनेको नेपाल सरकारकै हो । काठमाडौँ, पोखरा जस्ता ठुला शहरहरुमा पालिकाको राम्रो आम्दानी छ त्यहाँ राम्रो छ । तर, दैलेखमा त्यो अवस्था छैन ।’
दैलेखमा निराशाजनक नतिजा आउनुमा नेपाल सरकारको कम्जोरी भएको शाहीले बताए । यसमा नेपाल सरकारकै कम्जोरी हो,’उनले भने, ‘नत दरबन्दी दिएको छ । नत राम्रो व्यवस्थापन नै छ अनि कसरी आउँछ राम्रो नतिजा ?’ ‘पालिकाले ठुला–ठुला गफगर्न छोडेर र तालिम दिन छोडेर हरेक पालिकाले आफ्नो विद्यालयको पुर्नसंरचना गर्नु । यो गरेमा शिक्षक संख्या पुग्छ । यस्तो गरेमा पालिकाको खर्च पनि बढ्दैन । र पालिकाले पनि विद्यँलयलाई काम गर्ने वातावरण दिनुपर्छ,’ शाहीले भने ।
यता एसईई नतिजा ल्याउनेमा अग्रस्थानमा रहेको भगवतीमाई गाउँपालिकाले एसईई परिक्षालाई सफल बनाउन विभिन्न उदाहरणीय प्रयास गर्दै आएको छ । जस्ले गर्दा जिल्लामै पहिलो पालिका हुन सफल भएको छ । गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले एसईईमा राम्रँे नतिजा ल्याउन पालिकाले हरसम्भव प्रयास गरेको जानकारी दिए उनका अनुसार, “हाम्रो पालिकामा विषयगत शिक्षकको दरबन्दी पर्याप्त छ । संघीय सरकारको दरबन्दीभन्दा ३५ बढी शिक्षक हामीले आफैं थपेका छौँ ।”
एसईईको तयारीका लागि पालिकाले परीक्षा सुरु हुन दुई महिना अगाडिदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेको थियो । साथै, “महिनाको दश विद्यालय अनिवार्य अनुगमन गर्ने नीति बनाएका छौँ । त्यहाँ भेटिएका कमजोरीको तत्काल समाधान गर्छौँ,” थापाले जानकारी दिए ।
भौतिक पूर्वाधारको दृष्टिले पनि भवन र फर्निचर सबै विद्यालयमा पुगिसकेको थापाको दाबी छ । “विद्यालय र शिक्षकबीच नियमित बैठक गरी आवश्यकता अनुसार सामाग्री व्यवस्थापन गर्दै आएका छौँ । आगामी वर्षहरूमा तालिम, अनुगमन र पाठ्यक्रम आधारित शिक्षण प्रणालीलाई अझ बलियो बनाउनेछौँ,” उनले भने ।