काठमाडौँ । काठमाडौंमा असार १३ देखि १५ गतेसम्म आयोजित ‘म्याङ्गो फेस्ट २०२५’ मा ९ मेट्रिकटनभन्दा बढी आँप बिक्री भएको छ। तीनदिने महोत्सवमा आठ हजारभन्दा बढी आगन्तुक सहभागी भएका आयोजकहरूले जानकारी दिएका छन्।
काठमाडौँ अर्ग्यानिक्स, एग्रीनेपाल, अर्थियर एप, यूबी होल्डिङ्स र वाल्नट बिस्ट्रोको सहकार्यमा सम्पन्न उक्त उत्सवमा मधेसका विभिन्न बगैंचाबाट ल्याइएका माल्दाहा, दशहरी, जर्दा, किशनभोग र कुलकटिया जातका आँप बिक्रीका लागि राखिएका थिए। साथै, विश्वकै महँगो मानिने जापानी मियाजाकी आँपसहित २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा राखिएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको कार्यक्रममा उनले यस्ता महोत्सवहरूले किसान र बजारबीचको दूरी घटाउने तथा कृषिउत्पादनलाई विविधिकरण गर्न प्रेरणा दिने बताएका थिए। मन्त्री अधिकारीका अनुसार आँपजस्ता मौसमी फलका उत्पादनबाट क्यान्डी, अचार र परिकारहरू विकास गरेर आन्तरिक बजारमा खपत बढाउन सकिनेछ।
नेपाल म्याङ्गो फेस्टका निर्देशक तथा काठमाडौं अर्ग्यानिक्सका संस्थापक भुवन केसीका अनुसार, महोत्सव सबैका लागि खुला र समावेशी थियो। उनले यस्तो फेस्टले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन गर्ने, कीटनाशकमुक्त स्वस्थ विकल्पको प्रवर्द्धन गर्ने र सुरक्षित उपभोग संस्कारको विस्तारमा सघाउने बताए।
उनका अनुसार प्रदर्शनीमा राखिएका सबै आँपका बिरुवा सर्लाहीको ट्रपिकल होर्टिकल्चर सेन्टरमा उपलब्ध छन्। महोत्सवको अवसरमा तीन रेस्टुरेन्टहरूले आँप मिश्रित विशेष परिकारहरूको स्वाद समेत पस्केका थिए।