काठमाडौँ । कटहरी गाउँपालिका–३ का वडाध्यक्ष जदुलाल कामतले सोही पालिकाका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध ठगीको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय, मोरङमा लिखित उजुरी दिएका छन्।
वडाध्यक्ष जदुका अनुसार उनले ७ वर्षअघि रामकुमार कामतकी पत्नी रुनादेवी कामतको नाममा २१ लाख रुपैयाँ कर्जा लिने सर्तमा ६ कट्ठा जग्गा नामसारी गरेका थिए। उनले समयमै रकम फिर्ता गरिसकेको दाबी गरेका छन्। “मैले कर्जा लिएको २१ लाखको साटो ३५ लाख रुपैयाँ बुझाइसकेको छु,” जदुले भने, “तर कामतले अझै २३ लाख दिनुपर्ने भन्दै जग्गा फिर्ता गर्न मानेका छैनन्।”
उनले ऋण चुक्ता गर्न १५ धुर जग्गा बेचेर ७ लाख रुपैयाँ थप तिरेको बताएका छन्। “बैंकमा राखेको जग्गासमेत बेचेर ऋण तिरेको हुँ, अहिले आफैं घरविहीन अवस्थामा छु,” उनले गुनासो गरे।
पूर्वअध्यक्ष कामत भने आफूले वडाध्यक्षसँग कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्छन्। तर, वडाध्यक्ष जदुले कांग्रेसका स्थानीय नेता विनोद बस्नेतको रोहवरमा मिलापत्रको प्रयाससमेत भएको तर कामतले अडान नछाडेको बताएका छन्।
जदुलाल मात्रै होइनन्, पूर्वअध्यक्ष रामकुमार कामतबाट पीडित हुनेमा कटहरी–२ की ५५ वर्षीया रामवती राजवंशी पनि परेकी छन्। आठ लाख रुपैयाँ ऋण लिँदा आफ्नो जग्गा नामसारी गरेकी रामवतीले अहिलेसम्म फिर्ता नपाएको बताउँछिन्। “सुधार्न खोज्दा उल्टै अपमान भइन्छ,” उनले भनिन्।
प्रशासनमा उजुरी परेसँगै अब कानुनी प्रक्रियामार्फत छानबिन अघि बढ्ने संकेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ।