काठमाडौँ । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन प्रस्तावित न्यायाधीशमाथि सार्वजनिक बाटो मिचेको, किर्ते कागजात तयार पारेको र सत्ता–शक्ति प्रयोग गरी हिरासतमा राखेको जस्ता गम्भीर आरोप लगाइएको छ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले न्यायाधीश प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजुरी दिएका व्यक्तिसँग प्रत्यक्ष छलफल गरेको हो।
उजुरीकर्ता मनोजकुमार क्षेत्रीले पोखरेलमाथि सार्वजनिक बाटो मिच्न किर्ते कागज बनाएको आरोप लगाए। अर्का उजुरीकर्ता श्रेष्ठले त्यसलाई जिल्ला अदालतले सफाइ दिएको भए पनि त्यो निर्णय प्रभावमा आएको दाबी गरे।
यसैगरी, शान्तिसिंह थापामाथि उजुरीकर्ताहरूले प्रक्रिया नअगाडि बढाएको, फसाउने उद्देश्यले मुद्दा अघि सारिएको, र सत्ताको बलमा हिरासतमा राखिएको भन्ने आरोप लगाए।
उजुरीकर्ता आरती रावलले भने, “२०७९ सालमा झूटा कागजात किर्ते मुद्दा लगाएर मलाई २५ दिनसम्म हिरासतमा राखियो। त्यो पनि न्यायाधीशको शक्तिको दुरुपयोग गरेर।” उनले पूर्ण सफाइ पाइसकेको दाबी पनि गरिन्।
तीनै प्रस्तावित न्यायाधीशमध्ये पोखरेल र पौडेलविरुद्ध दुई–दुई वटा तथा थापाविरुद्ध एउटा उजुरी परेको हो। उजुरीकर्तासँगको छलफलपछि समितिले आगामी आइतवार औपचारिक सुनुवाइ गर्ने निर्णय गरेको छ।