काठमाडौँ । कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले आर्थिक रूपमा विपन्न २२ जना युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ।
यो तालिम समूहको वार्षिक योजना अन्तर्गत जीविकोपार्जन र रोजगार प्रवर्द्धनका लागि आयोजना गरिएको हो। वन ऐन, २०७६ ले सामुदायिक वनको आम्दानीको केही अंश सामाजिक हितमा खर्च गर्न व्यवस्था गरेको छ, जसको आधारमा यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रामबहादुर कामीले बताए।
तालिम वैशाख १३ गतेदेखि जेठ २६ गतेसम्म मनकामना ड्राइभिङ सेन्टर, मसुरियाको प्राविधिक सहकार्यमा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले सामुदायिक वनले विकासमा पु¥याएको योगदान प्रेरणादायी रहेको बताए। वडा नं ७ का अध्यक्ष आशाराम चौधरीले तालिमले युवालाई आत्मनिर्भर बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाए।
प्रशिक्षक नैनबहादुर विष्टका अनुसार, दुई सय २५ घण्टाको तालिममा सहभागीले सैद्धान्तिक ज्ञानसहित व्यावहारिक अभ्यास गरेका थिए। तालिमपछि १८ जनाले लाइसेन्सको लिखित परीक्षा दिँदा १७ जना उत्तीर्ण भएका छन्। तीमध्ये पाँच जनाले ट्रायल पनि पास गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गरिसकेका छन्।
समूहले ड्राइभिङसँगै पलम्बिङ, सिलाइ,कटाइ, ब्युटिसियन तालिमजस्ता अन्य सीपमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।