काठमाडौँ । तनहुँको आँबुखैरेनी अस्पतालमा पछिल्लो समय झाडापखाला र ज्वरोका बिरामीको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। मौसम परिवर्तनसँगै बिरामी बढ्न थालेको अस्पताल प्रशासनको भनाइ छ। अस्पतालमा दैनिक १५० जनाभन्दा बढी बिरामी आउँछन् भने तीमध्ये हाल झाडापखालाका करिब १५ जना र ज्वरोका २० जना बिरामी देखिन थालेको सुपरिटेन्डेन डा। डिबी क्षेत्रीले जानकारी दिए।
उक्त अस्पतालमा भाइरल ज्वरो भएका बिरामीलाई सिटामोललगायत औषधि दिइने गरिएको छ भने गम्भीर अवस्थामा पुगेका बिरामीको रगत परीक्षण गरेर टाइफाइड र डेङ्गी जाँच गरिन्छ। पखालाका बिरामीलाई भर्ना गरेर उपचार चलाइँदै आएको छ। बिरामीहरूलाई पर्याप्त झोलिलो पदार्थ सेवन, आराम, र सफा पानी पिउन सुझाव दिइएको छ।
यस्तै, अस्पतालमा मधुमेह, उच्च रक्तचाप, छालाजन्य, हाडजोर्नी र प्रसूतिसम्बन्धी बिरामीको चाप पनि बढ्दो छ। अहिले खेतीपातीको समय भएकाले ओपिडीमा चाप केही घटे पनि इमरजेन्सी कक्षमा बिरामीको भीड बढिरहेको छ।
विसं २०७९ मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको अस्पतालले हाल ओपिडी, इमरजेन्सी, ल्याब, फार्मेसी, एक्स–रे, भिडियो एक्स–रेजस्ता सेवा दिँदै आएको छ। पछिल्लो समय डेनटल, फिजियोथेरापी, डायलासिस, प्रसूति तथा गाँठागुठी शल्यक्रिया र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थपिएको छ।
गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। रामकुमार साहको सेवा नियमित रूपमा सुरु भएसँगै स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालले आधारभूत तहको भन्दा बढी सेवा दिइरहेको उल्लेख गर्दै डा। क्षेत्रीले स्थानीय सरकारको सक्रियता र प्रतिबद्धता प्रशंसनीय रहेको बताए।