काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा अहिले देशभर हस्ताक्षर संकलन अभियान चलिरहेको छ। असार ७ गते भैरहवा कारागारबाट सचिवालयमार्फत जारी गरिएको अपिलमा रविले आफूविरुद्ध राजनीतिक प्रतिशोधपूर्वक मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध नागरिकको समर्थन जुटाउन हस्ताक्षर अभियान सुरु गरिएको जानकारी गराएका थिए।
अभियानको क्रममा QR कोडमार्फत आर्थिक सहयोग (चन्दा) संकलनसमेत भइरहेको छ। हस्ताक्षर स्थानहरूमा QR कोड राखिएको छ भने त्यो डिजिटल माध्यममार्फत देश–विदेशमा समेत फैलाइएको छ।
तर, अभियानसँगै संकलित चन्दा कहाँ, कसरी राखिने र खर्च गरिने भन्ने विषयमा स्पष्ट जानकारी नहुँदा प्रश्नहरू उठिरहेका छन्।
छुट्टै खाता, छुट्टै कोष
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, ‘हस्ताक्षर अभियान सञ्चालन गर्न छुट्टै खाता खोलेर स्वतःस्फूर्त सहयोग उठाउने उद्देश्यले QR कोड राखिएको’ हो। उनका अनुसार, यो खाताबाट कानुनी लडाइँका खर्च र अभियान सञ्चालनका लागि आवश्यक रकम व्यवस्थापन गरिनेछ।
‘लिगल डिफेन्स फण्ड’ बनाइयो
रास्वपाले रवि लामिछानेविरुद्धको मुद्दामा खर्च गर्नका लागि ‘लिगल डिफेन्स फण्ड’ नामक छुट्टै कोष स्थापना गरेको छ। ग्लोबल आइएमई बैंकमा खोलिएको यस खातामा कोषाध्यक्ष निमा अधिकारी र सहकोषाध्यक्ष तथा हस्ताक्षर अभियान संयोजक दीपक बोहोराको हस्ताक्षर रहनेछ।
दीपक बोहोराका अनुसार, हाल खाताको आधिकारिक विवरण प्रक्रियामा रहेकाले संकलित रकमको ठोस हिसाब खुल्न बाँकी छ। कार्यविधि निर्माणको जिम्मेवारी पनि उनलाई दिइएको छ।
पार्टीको आर्थिक अवस्था र चन्दाको आवश्यकता
पार्टीका प्रवक्ता तथा संघीय सांसद मनिष झाले, “सभापतिजीको मुद्दामा कानुनी प्रक्रिया सामना गर्न पार्टीको मूल कोषबाट खर्च भइरहेको छ, त्यसैले आर्थिक भार कम गर्न छुट्टै फण्ड बनाइएको हो,” भने। उनका अनुसार, आगामी दिनमा कानुनी सहयोग आवश्यक पर्ने सम्भावनालाई ध्यानमा राख्दै फण्डलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ।
मुद्दाको पृष्ठभूमि
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। उनी हाल भैरहवा कारागारमा छन्।