काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट आफू निर्दोष प्रमाणित भइसकेको बताएका छन्। पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा उठेको विवादपछि सञ्चालित छानबिनमा आफ्नो संलग्नता नरहेको पुष्टि भइसकेको स्पष्ट गर्दै उनले अझै पनि सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोज्नेहरूप्रति दया लाग्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै किरातीले यस्तो असञ्चारयुक्त प्रवृत्तिप्रति गहिरो असन्तुष्टि जनाएका हुन्। उनका अनुसार, “पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाट म निर्दोष छु भन्ने कुरा प्रमाणित भइसक्यो। अझै पनि सामाजिक सञ्जालहरूमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरूप्रति दया लाग्छ।”
किरातीले यस विषयमा चर्चा सुरु हुनासाथै आफूले तत्कालीन मन्त्रीसमक्ष छानबिनका लागि औपचारिक निवेदन दिएको उल्लेख गर्दै, सार्वजनिक पदमा रहेकाहरूका हकमा छानबिन हुनु लोकतान्त्रिक प्रकृयाको हिस्सा भएको बताएका छन्। उनले लेखेका छन्, “सामान्य चर्चा सुन्न साथ मैले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष निवेदन हाली छानबिनको माग गरेको तपाईंहरूलाई थाहा छ?”
उनका अनुसार, उजुरी परिनु आफैंमा कसैको दोष सावित गर्ने प्रमाण होइन र कानुनी प्रक्रिया सम्पन्न नभएसम्म कसैलाई दोषी ठहर गर्नु अनुचित हो। उनले भनेका छन्, “सुदन किरातीलाई मात्र होइन, उजुरी वडा अध्यक्षदेखि पूर्व प्रधानमन्त्रीहरूसम्म लाखौँ मान्छेलाई परेको छ। यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र?”
पूर्वमन्त्री किरातीले भ्रष्टाचारलाई देशको शत्रुको रूपमा परिभाषित गर्दै आफू सधैं भ्रष्टाचारविरोधी अभियानमा दृढ रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले सार्वजनिक जीवनमा पारदर्शिता र जवाफदेहिताको पक्षमा उभिइरहन आफू तयार रहेको सन्देश दिएका छन्।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित विद्युतीय शवदाह गृह खरिद तथा जडान प्रक्रियामा अनियमितता भएको अभियोगमा कोषका तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापा सहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरिएको हो।
पूर्वमन्त्री किरातीमाथिको कानुनी अनुसन्धान समाप्त भइसकेको र दोषमुक्त प्रमाणित भएको भए पनि सामाजिक सञ्जालमा जारी भ्रमपूर्ण प्रचारप्रति उनले चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिलाई सघाउने प्रवृत्तिको अन्त्य हुनु पर्ने धारणा राखेका छन्।