काठमाडौँ । पछिल्लो समय नेपालबाट यार्सा गुम्बाको निर्यातमा उल्लेख्य गिरावट आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा नेपालबाट १,३१३ किलो यार्सा गुम्बा निर्यात भई कुल ६४ करोड २२ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको थियो। तर चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ५०६ किलोमा झरेको छ, जसको मूल्य मात्र २१ करोड ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
यो गिरावट ४२ करोड ६८ लाख ७९ हजार रुपैयाँ बराबरको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब दुई(तिहाइ कम हो। व्यवसायीहरूका अनुसार यार्सा उत्पादन नै घट्दै गएकाले संकलन र निर्यातमा असर परेको हो।
नेपाल यार्सा गुम्बा संघका अध्यक्ष निरञ्जन बहादुर चलाउनेका अनुसार जलवायु परिवर्तनको प्रतिकूल प्रभावले यार्सा उत्पादनमा गिरावट आएको हो। “हिमाली भेगमा हिउँ नपर्नु, तापक्रम असामान्य रूपमा बढ्नुजस्ता कारणले यार्साको प्राकृतिक चक्रमा असर परेको छ,” उनले बताए। उनले संरक्षण तथा व्यवस्थापनमा सरकारी ध्यान आवश्यक रहेकोसमेत औंल्याए।
नेपालबाट सबैभन्दा बढी यार्सा गुम्बा चीनमा निर्यात हुने गरेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चीनमा १४४ किलो यार्सा निर्यात भई ३ करोड ८४ लाख ३९ हजार रुपैयाँ आम्दानी भएको छ। अघिल्लो वर्षको सोही अवधिमा चीनमा ५७१ किलो यार्सा निर्यात भएको थियो, जसबाट २२ करोड ८७ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
नेपालबाट यार्सा गुम्बा चीनबाहेक अस्ट्रेलिया, कम्बोडिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हङकङ, जापान, मलेसिया, सिङ्गापुर, भियतनामलगायत देशमा पनि निर्यात हुने गरेको छ।
विशेषज्ञहरूका अनुसार यार्सा गुम्बाको दीर्घकालीन उत्पादन स्थायित्वका लागि वैज्ञानिक ढंगबाट संरक्षण, अनुसन्धान र समुदाय आधारित व्यवस्थापन आवश्यक छ।