काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा गएको भीषण पहिरोको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि स्थानीय बासिन्दा त्रासमै छन् । संघ र प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत पठाउने आश्वासन दिए पनि व्यवहारमा केही नदेखिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले तत्काल बस्तीमा त्रिपाल र खानेपानीको व्यवस्था गर्नुपर्ने भए पनि बाढीले तिलगाउँ जाने बाटो पूर्ण रूपमा भत्काएकाले ढुवानीमा समस्या भएको बताए । याकलाई समेत हिँड्ने बाटो नभएकाले खानेपानी कार्यालयले पठाएका पाइपहरू वडा कार्यालयमै थन्किएका छन्।
स्थानीय कुण्डप फुर्वा लामाका अनुसार रातभर खुला स्थानमा सुत्नुपर्दा चिसोले समस्या भएको छ। बाढीले खानेपानीका स्रोतहरू बगाएपछि शुद्ध पिउने पानीको अभाव भएको र गाउँ नजिकै पानी भए पनि पाइप नहुँदा ल्याउन नसकिएको उनले बताए ।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले केन्द्र र प्रदेश सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गर्दै 'तिलगाउँको पीडा सुनाउँदा सुनाउँदै टाउको दुखिसक्यो, तर माथिका संयन्त्रहरूले नसुनेझैं गर्छन्' उनले भने । पटक–पटक राहत र व्यवस्थापनको माग गर्दा पनि आश्वासन मात्रै आएकाले अन्ततः गाउँपालिकाले नै आफ्नै पहलमा राहत वितरण गरेको उनले जानकारी दिए ।
गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काम भइरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बस्तीमै पुनः बस्न सकिन्छ कि सकिँदैन भन्ने निर्णय प्राविधिक मूल्यांकनपछि हुने जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तीनजना विज्ञसहितको प्राविधिक टोली मौसम प्रतिकूलताका कारण नेपालगञ्जमै रोकिएको भए पनि भोलि बिहान हुम्ला आइपुग्ने तयारीमा रहेको उनले बताए ।
तिलगाउँबासी अहिले दिउँसो घरमा बसे पनि रात परेपछि पानी र हिमपातको त्रासमा त्रिपाल टाँगिएको विद्यालयमा बस्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार करिब दुई किलोमिटर लामो पानीको पाइप राखेर शुद्ध खानेपानी उपलब्ध गराइएको छ भने खाद्यान्न तथा लत्ताकपडाको राहत पनि पहिरो प्रभावित क्षेत्रमा पठाइसकिएको छ।