सुर्खेत । कर्णाली प्रदेश सरकारद्वारा गणतन्त्र दिवसको अवसरमा तिनदिने बहुसांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । जेठ १४, १५ र १६ गते सञ्चालन हुने उक्त कार्यक्रम प्रदेश सरकारको निर्णयअनुसार सामाजिक विकास मन्त्रालयको समन्वयमा हुने भएको हो ।
मुख्य समारोह जेठ १५ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा हुनेछ भने सामाजिक विकास मन्त्रालयले विविध कार्यक्रम सञ्चालन गर्नेछ। मन्त्रालयका अनुसार जेठ १४ गते रक्तदान कार्यक्रम, १४ र १५ गते खेलकुद पदाधिकारीहरूसँग कार्यशाला, र जेठ १६ गते बहुसांस्कृतिक प्रदर्शनी हुनेछ ।
वीरेन्द्रनगरस्थित सिटी हल परिसरमा हुने प्रदर्शनीमा विद्यार्थीहरूद्वारा थारू, राउटे, देउडा, मगर, गुरुङ, शेर्पा, मयूर, कौडा, झ्याउरे, सोरठी, टप्पा, सिंगारू, हुड्के लगायत परम्परागत नृत्य प्रस्तुत गरिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
परम्परागत संस्कृतिको पुस्तान्तरण र विद्यार्थीहरूबीच प्रतिभा विकास गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले बताए ।
त्यस्तै कर्णाली प्रदेशका खेलकुद विकासका लागि जेठ १४ र १५ गते दुईदिने कार्यशालामा विभिन्न खेल संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।