सुर्खेत । पछिल्लो समय सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने एनजीओ र आईएनजीओका कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको अतिथि मोह बढेको छ । प्रदेश सरकारको काम कार्वाही भन्दा पनि बढीजसो एनजीयो आइएनजीयोको कार्यक्रममा सहभागिता बढ्दै जाँदा आलोचना हुन थालेको छ । सामाजिक सञ्जालदेखि प्रदेशसभा बैठकसम्म यस विषयले बहस सिर्जना गरेको छ ।
माओवादी प्रमुख सचेतक कृष्णबहादुर जिसीले मन्त्रीहरू खानेकुरा र औपचारिकतामा रमाउँदै जनसरोकारका विषय बेवास्ता गरेको आरोप लगाए । उनले एनजीओका निम्तोमा सिङ्गो प्रदेशसभा नै सहभागी हुने प्रवृत्तिबाट सांसदहरूको प्राथमिकता गलत दिशातिर गएको बताए ।
शनिबार ‘छोरी सम्मेलन’ नामक कार्यक्रममा आठमध्ये सातजना मन्त्री र सभामुखसहित दर्जनभन्दा बढी सांसदहरूको उपस्थिति उदाहरण हो । कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले सबै मन्त्री एउटै कार्यक्रममा उपस्थित हुनु अस्वाभाविक भएको स्वीकार गरे । साथै उनले अब सम्बन्धित मन्त्रालयकै मन्त्री मात्रै सहभागी हुने खालको व्यवस्था मिलाइने जानकारी दिए ।
एनजीओ–आईएनजीओ गतिविधिलाई व्यवस्थित गर्ने भनिएको सरकार स्वयं यस्ता कार्यक्रममा सहभागी भइरहँदा यसको प्रभाव विधायिका र विकासमा परेको विश्लेषण गरिएको छ ।
प्रदेशका अधिकांश मन्त्रीहरू आफ्नो प्रमुख जिम्मेवारी नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनको सट्टा विभिन्न कार्यक्रमका प्रमुख अतिथि बन्ने र उद्घाटनमा सहभागी हुने गतिविधिमा अत्यधिक समय खर्च गरिरहेका छन् । राजधानी वीरेन्द्रनगरदेखि अन्य जिल्लासम्म हुने कार्यक्रमहरूमा हुने उपस्थितिले उनीहरूलाई वास्तविक प्रदेश सञ्चालनका दायित्वबाट विमुख गराएको देखिन्छ ।
प्रदेश सरकारको नीति, योजना र विकासको स्पष्ट खाका तयार पार्न मन्त्रीहरूले समय, ध्यान र प्राथमिकता दिनुपर्ने हो । तर, हालको प्रवृत्तिमा कार्यक्रम मोह हावी भएको देखिन्छ, जसका कारण प्रदेशको समग्र विकास प्रक्रिया प्रभावित भएको छ । यसप्रति नागरिक स्तरबाट तीव्र असन्तुष्टि र आलोचना व्यक्त भइरहेका छन् ।b