ललितपुर । ललितपुर महानगरपालिकामा महिला समूहलाई आत्मनिर्भर बनाउने उद्देश्यले पिताम्बरी झोल र फिनाइल उत्पादन सम्बन्धी एकदिने तालिम संचालन भएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोग तथा संगम महिला समूहको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो ।
उक्त तालिममा सहभागी महिलाहरूलाई घरेलु प्रयोजनका लागि अत्यावश्यक वस्तुहरू – पिताम्बरी झोल (तामा–पीतल चम्काउने झोल) र फिनाइल (फ्लोर क्लिनर) को तयारी प्रक्रिया, सामग्रीको प्रयोग, मापन, प्याकेजिङ र व्यवसायिक बिक्री प्रविधिबारे व्यावहारिक ज्ञान प्रदान गरिएको संगम महिला समूहका अध्यक्ष सुमित्रा खड्का (सुमी)ले जानकारी दिइन् ।
उनका अनुसार उक्त तालिममा सहभागी २० जना महिलालाई तामा–पित्तलका भाँडाकुँडालाई चम्काउने पिताम्बरी झोल र फिनाइल (फ्लोर क्लिनर) उत्पादनका लागि आवश्यक सामग्री, मापन प्रक्रिया, प्याकेजिङ, लेबलिङ र व्यवसायिक बजार व्यवस्थापनबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

संगम महिला समूहकी अध्यक्ष सुमित्रा खड्का (सुमी) का अनुसार यो तेस्रो वर्ष संचालन गरिएको सीपमूलक तालिम हो । “पहिलो वर्ष श्रव बनाउने, दोस्रो वर्ष झोल साबुन, र यस वर्ष पिताम्बरी झोल तथा फिनाइल उत्पादन तालिम संचालन गरेका हौँ,” उनले भनिन् ।
अघिल्ला वर्षहरूमा वडा भरका समूहलाई एउटै स्थानमा भेला गराई तालिम दिइन्थ्यो। तर, प्रभावकारिता कमजोर भएको अनुभवपछि, समूहभित्रै तालिम सञ्चालन गर्ने रणनीति अघि सारिएको खड्काले बताइन् ।
“पहिले एउटै ठाउँमा तालिम हुन्थ्यो, त्यसबाट खासै सिकाइ हुन्थेन। अहिले हामी आफैंले पहल गरेर समूहभित्रै तालिम सञ्चालन गर्दै आएका छौँ,” अध्यक्ष खड्काले भनिन्, “यसले नेतृत्व विकाससँगै आयआर्जनतर्फ महिलाहरूको ध्यान गएको छ।”

वडा नम्बर २३ मा हाल १५ वटा महिला समूह सक्रिय छन् । ती समूहहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले वडाबाट प्रत्येक समूहलाई वार्षिक ३० हजार रुपैयाँका दरले बजेट उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
वडा सदस्य राजन मल्ल र अस्मिता सिंह ठकुरी तालिमको निरीक्षणमा सहभागी भएका थिए । सदस्य ठकुरीले उत्पादित वस्तुहरूको ब्रान्डिङ, लेबलिङ र मेसिन जडानमार्फत व्यवसायिक विस्तार गर्न सकिने सुझाव दिएकी थिइन् ।
तालिम अवधिमा अध्यक्ष खड्काले बजेटको सीमितता उल्लेख गर्दै, वडाबाट थप बजेटको पहल गरिदिन अनुरोधसमेत गरेकी छिन् । सामग्री, लागत र सीपको न्यूनतम प्रयोगमा आधारित यस्ता कार्यक्रमहरूले महिलाहरूलाई सशक्त बनाउँदै गृह उद्योगमार्फत स्वरोजगारमा रूपान्तरण गर्ने सम्भावना बढेको सहभागी महिलाहरूले बताएका छन् ।