कालिकोट । आमाबुवा गुमाएका, अपांगता भएका तथा अति विपन्न अवस्थाका ८३ बालबालिकालाई कालिकोटको शुभकालिका गाउँपालिका–४ र ५ मा खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको छ।
सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालको साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत सो सहयोग प्रदान गरिएको हो । परियोजनाका फिल्ड अधिकृत हस्तबहादुर रोकायाका अनुसार आइतबार वितरण गरिएको सामग्रीमा झोला, कापी, डटपिन, पेन्सिल, ज्यामिती सेट, विद्यालय पोशाक, टिफिन बक्स, मसिनो चामल (१ बोरा), ५ केजी दाल, तेललगायतका सामग्री समावेश थिए ।
शिक्षा थिमअन्तर्गत वडा नं. ४ का ३० जना र वडा नं. ५ का २० जना गरी ५० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो। यस्तै, बालअधिकार शासन तथा बाल संरक्षण थिमअन्तर्गत वडा नं. ४ का १८ जना र वडा नं. ५ का १५ जना गरी ३२ जना बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको परियोजनाका प्रतिनिधि राम सुनारले जानकारी दिए ।
संस्थाका प्रमुख राजेन्द्र सहकारीका अनुसार कुल ३ लाख २५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो। परियोजनाले स्थानीयस्तरमा अति जोखिममा रहेका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यस प्रकारको सहयोग गर्दै आएको बताइएको छ।