ललितपुर । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा आज ललितपुर महानगरपालिकाले झनाख्य मेट्रो पार्कमा उनको अर्धकदको सालिक अनावरण गरेको छ । सालिकको अनावरण महानगर प्रमुख चिरीबाबु महर्जनले एक विशेष समारोहबीच गरे ।
कार्यक्रममा बोल्दै प्रमुख महर्जनले स्व. जोशीलाई मुलुककै गहना भन्दै उनको जीवनकालमै उनको इच्छा अनुसार थुप्रै सम्मानजनक कार्यहरू सम्पन्न गरिएको जानकारी दिए । “हामी ‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित सेवा प्रवाह गर्दै आएका छौं,” उनले भने, “शताब्दीपुरुषको सन्देश र योगदानलाई आत्मसात् गर्दै उहाँको सम्मानमा महानगरले अनेकौं पहलहरू गरेको छ।”
महानगरप्रमुख महर्जनले स्व. जोशीले लेखेको चलचित्र ‘वैद्य बा’ आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी समेतदिए । “उहाँ जीवित रहँदाको अवस्थामा नै टकमारी, हुलाक टिकट प्रकाशनदेखि लिएर १०० वर्ष पुग्दा बग्गी यात्राद्वारा सम्मान गरिएको ऐतिहासिक क्षणहरु छन्,” उनले स्मरण गरे ।
महर्जनले स्व. जोशीको योगदानलाई दीर्घकालसम्म उजागर गर्न महानगरले आगामी बजेटमा विशेष कार्यक्रमहरू समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । “यसमा उहाँको परिवार र जातीय समुदायको सहयोग अपरिहार्य छ,” उनले जोड दिए ।
वि.सं. १९७७ साल वैशाख ३० गते जन्मेका सत्यमोहन जोशीको २०७९ असोज ३० गते, १०३ वर्षको उमेरमा निधन भएको थियो । उनको योगदानको सम्मानस्वरूप जीवित रहँदै सरकारले उनको तस्बिर अङ्कित नेपाली मुद्रा र हुलाक टिकट प्रकाशन गरेको थियो, जुन नेपाली इतिहासमै दुर्लभ उदाहरण मानिन्छ।
उनले भाषा, साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा पु¥याएको योगदान नेपाली समाजको अमूल्य सम्पत्ति बनेको छ। ललितपुर महानगरपालिकाले जोशीको स्मृतिलाई दीर्घकालसम्म जीवन्त राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।