काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकालाई जोड्ने रामघाट–ठाटीकाँध सडक कालोपत्रे भएको एक वर्ष नपुग्दै कालोपत्रे उप्केको छ । कालोपत्रे भएको एक वर्ष नपुग्दै सडक किनाराबाट बग्ने नालाको पानी सिधै सडकमा पस्छ भने नालाको अवस्था समेत जिर्ण बनेको छ । कालोपत्रे उप्किन थालेको छ ।
पुर्वाधार विकास कार्यालय दैलेखको २४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । भने १५ करोड ७५ लाखमा निर्माण ठेक्का सम्झौता गरिएको सडकको निर्माण कार्य अधुरै छ । आर्थिक वर्ष २०७७÷७८ मा श्याम एण्ड संकर सी.के. जेभी निर्माण कम्पनीसँग सम्झौता भई २०७९÷८० मा म्याद सकिएको थियो । त्यसपछि पुनः एक वर्ष म्याद थप गरिएको थियो ।
निर्माण व्यवसायी कलम कुमार केसीले भने सबै निर्माण कार्य २०८०÷८१ को असार मसान्तसम्म सम्पन्न भइसकेको बताए । यद्यपि हाम्रो ‘डिफेक्ट लियाबिलिटी प्रिरेड) बाँकी नै छ । पूर्वाधार विकास कार्यालय दैलेखको टिम आएर हेरेको छ । कहाँ के भएको हो हेरेर निर्माण गर्नुपर्ने भए निर्माण गर्ने केसीले जानकारी दिए ।
तर, भौतिक रूपमा सडकको अवस्था जिर्ण बन्दै गएको देखिन्छ । सडक छेउमा रहेका संकेत (साइनबोर्ड) लेखिने, रंगिने तथा मर्मतको काम अझै अधुरै छन । भने सडकको बीचभागमा गरिएको कालोपत्रे उप्किएको छ । भने नालाछेउमा सडकछेउबाट बग्न थालेको छ । नाला समेत एकदमै जिर्ण देखिन्छ भने । पुरानै नालामा कालो पत्रे गरिएको छ ।
ठाटीकाँध गाउँपालिकाका कार्यक्रम संयोजक भूपेन्द्र शाहीले दुई–तीनपटक ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय, दैलेखलाई जानकारी गराइए पनि कुनै चासो नदिएको बताए । ‘बोर्ड, किलोमिटर लगायतका संरचना अधुरा छन, तर सम्बन्धित निकायले वास्ता गरेको देखिँदैन,’ शाहीले भने ।
सडक निर्माणका क्रममा पूर्वाधार विकास कार्यालय दैलेखबाट फिल्ड हेर्ने इन्जिनियर राकेश यादवका अनुसार, स्टिमेटमा पर्याप्त नाला समावेश नभएको र पुरानै नालामाथि कालोपत्रे गर्नुपरेकोले हालको अवस्था उत्पन्न भएको जानकारी दिए । साइनबोर्ड राख्ने तथा अन्य संरचना बनाउने विषय पनि स्टिमेटमा नरहेको हुँदा ठेकेदारले आफ्नो खर्चमा काम गर्न नमानेको उनले बताए ।
उनका अनुसार पूर्वाधार विकास कार्यालयले सडक कालोपत्रेका लागि २४ करोड बजेट छुट्याएको थियो भने । १५ करोड ७५ लाखमा निर्माण ठेक्का सम्झौता गरिएको उनले जानकारी दिए ।
ठाटीकाँध गाउँपालिका–२ का स्थानीय लबबहादुर शाहीका अनुसार, उक्त सडकको कालोपत्रे सडकका पाँच स्थानमा कालोपत्रे उप्किएको छ भने नालाको निर्माण पनि अधुरै अवस्थामा छ । भने पुरानो नाला समेत भत्काएर पुन मर्मत गरिएको छैन ।
‘सडक पूर्ण रूपमा निर्माण गरिएको छैन,’ शाहीले भने, ‘नाला अधुरो छ, कतिपय ठाउँमा ढुंगा नालामै थुपारिएको छ ।’ उनका अनुसार सडकमा राखिएको साइनबोर्डमा न त रंग लगाइएको छ, न त आवश्यक जानकारी जस्तै लम्बाइ (किलोमिटर) उल्लेख गरिएको छ ।
लामो समयको प्रतीक्षापछि बल्लतल्ल कालोपत्रे गरिएको ठाटीकाँधको सडकले केही समयका लागि स्थानीयवासीलाई राहत त दिएको थियो, तर अहिले कालोपत्रे उप्किन थालेपछि पुनः समस्या देखिन थालेको छ ।
‘पहिले कालोपत्रे नहुँदा निकै सास्ती थियो,’ ठाटीकाँधका यातायात व्यवसायी बम बोगटी भन्छन्, ‘पानी परेको समयमा सुकिपिउलीदेखि माथि फोर्स गाडी चल्दैनथ्यो ।’
स्थानीयवासीहरूले सडक कालोपत्रे भएपछि अब यात्रा सहज हुने र दुःखका दिन गए भनी आशा गरेका थिए । तर, कालोपत्रे भएको एक वर्ष नपुग्दै सडकका विभिन्न भागमा डामर उप्किन थालेपछि उनीहरू पुनः निराश भएका छन । ‘कालोपत्रे हुँदा हामी खुसी थियौं, तर अबको अवस्था झनै पीडादायी हुन सक्छ,’ बोगटी भन्छन् ।
निर्माण कम्पनीको डीपी ‘डिफेक्ट लियाबिलिटी प्रिरेड) अझै बाँकी रहेकाले सडक मर्मतका लागि ताकेता गरिने र आवश्यक परेमा पुनः मर्मत गराइने पूर्वाधार विकास कार्यालय, दैलेखका प्रमुख इन्जिनियर प्रविण कार्र्कीले जानकारी दिए । ‘सडकको अवस्था हेर्न हामी फिल्डमा जाँदैछौं, निरीक्षणपछि आवश्यक कदम चाल्छौँ,’ उनी भन्छन् ।
यता स्थानीय बासिन्दाहरू भने गुणस्तरीय निर्माण नभएको र अनुगमन तथा मर्मतको अभावले सडक एक वर्षमै भत्किन थालेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन । ‘सुरु देखिनै गुणस्तरको गुनासो गरिरहे पनि कसैले वास्ता गरेन, अहिले त हिंड्न पनि गाह्रो छ,’ एक स्थानीयले भने ।