काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको औपचारिक घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविरामको घोषणा गर्दै खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, 'सामान्य ज्ञान र महान बुद्धिमताको प्रयोग गरेका भारत र पाकिस्तान दुवै देशलाई बधाई दिन चाहन्छु ।'
ट्रम्पको दाबी अनुसार, पछिल्लो समय दुवै देशबीच उत्पन्न तनावलाई शान्तिपूर्ण ढंगले समाधान गर्न अमेरिका सक्रिय रहँदै आएको थियो । यसै क्रममा अमेरिकी कूटनीतिक पहल र वार्ताको माध्यमबाट विवाद समाधानको आधार तयार भएको हो।
दुवै छिमेकी आणविक शक्तिहरूबीच विगतमा पटक–पटक सीमावर्ती क्षेत्र तथा कश्मीर विषयलाई लिएर युद्धस्तरसम्मको स्थिति सिर्जना हुँदै आएको छ। यस्ता संवेदनशील परिस्थितिमा युद्धविराम घोषणा हुनु दक्षिण एशियाली क्षेत्रीय शान्तिका लागि सकारात्मक संकेतको रूपमा हेरिएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
युद्धविरामको प्रभावबारे विस्तृत विवरण सार्वजनिक नभए पनि राजनीतिक विश्लेषकहरू यो कदमलाई क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण मोडका रूपमा हेरेका छन् ।