सुर्खेत । जिल्ला अदाल सुर्खेतले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको लापरवाहीले मृत्यु भएको भनिएकी दैलेखकी भिमा गुरुङका आफन्तलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
२९ चैत २०८० मा अस्पतालको लापर्वाहीले मृत्यु भएको भन्दै आफन्तबाट जिल्ला अदालत सुर्खेतमा दायर भएको मुद्दामा प्रतिवादीबाट क्षतिपूर्ति भराउने गरी फैसला भएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।
उनका अनुसार बुधबार न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने ठहर गरेको हो । अस्पतालको लापर्वाहीले मृत्यु भएको भनिएकी दैलेखको आठबिस नगरपालिका – ५, पीपलकोटकी २२ वर्षीया भिमा गुरुङका आफन्तले १७ वैशाख २०८१ मा न्यायका लागि अदालत गुहारेका थिए ।
गत २८ चैत २०८० मा सामान्य पेट दुखाइसम्बन्धी समस्या भई हिँडेर उपचार गर्न प्रदेश अस्पताल पुगेकी भिमालाई अस्पतालले भोेलिपल्ट मृत घोषणा गरिदिएको थियो ।
सामान्य अवस्थामा अस्पताल आएकी भिमाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापर्वाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै आन्दोलित बनेका थिए ।
झण्डै एक साताभन्दा बढी वीरेन्द्रनगरमा आन्दोलित बनेका आफन्तले राखेका माग पूरा गर्न अस्पताल, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकार तयार नभएपछि भिमाको शव अस्पतालमै छोडेर घर फर्किएका थिए ।
मृतक भिमाकी आठमहिने नाबालिका छोरीको पालनपोषणका लागि उचित व्यवस्था, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर गरिएको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएपछि उनको परिवार अदालतको ढोका गुहार्न बाध्य भएको थियो ।
मृतकका जेठाजू नाता पर्ने धन मगरले अन्तर्कालीन आदेश माग गर्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराएका थिए । अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजंग शाहीलगायतलाई विपक्षी बनाइएको थियो ।
अदालतमा दायर भएको मुद्दामा मृतकका नाबालिका छोरीको लालनपालन, रेखदेख, संरक्षणका साथै उचित क्षतिपूर्ति अदालतबाटै पीडित परिवारलाई दिलाई भराई पाऊँ भनी माग दाबी गरिएको थियो ।
यस्तै, स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका प्रमाण नष्ट गर्न सक्ने भएको हुँदा मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउन माग गरिएको थियो । बिरामीको शल्यक्रियामा संलग्न चिकित्सकहरूका बारेमा जानकारी दिन प्रदेश अस्पताललाई आदेश, जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकार आयोगको प्रत्यक्ष निगरानीमा विशेषज्ञबाट पोस्टमार्टम गर्ने व्यवस्था मिलाइदिन पनि आफन्तले अदालतसँग माग गरेका थिए । पीडितका तर्फबाट कानुन व्यवसायी अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए ।
२८ चैतमा भिमा पेट दुखाइसम्बन्धी समस्या देखा परेपछि हिँडेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पुगेकी थिइन् । डाक्टरले जाँच गर्दा पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनेपछि अस्पताल भर्ना गरिएको थियो ।
भिमाको शल्यक्रिया गर्नुअघि २९ चैतमा डाक्टरहरूको टिमले यो केस सामान्य भएकाले चिन्ता नगर्नू भनी आफन्तलाई सम्झाइ बुझाइ गरी शल्यक्रिया कक्षमा लगेको थियो । सोही दिन अपराह्न ३ बजेर १० मिनेट बाँकी रहँदासम्म डाक्टरहरूले सबै ठीकै छ भनेर रगत चढाएको आफन्तहरूले दाबी गर्दै आएका थिए ।
तर, एक्कासि त्यसको केही समयमा तपाईंको बिरामीको अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएलगत्तै उपचारमा संलग्न डाक्टरहरूले भिमाको मृत्यु भएको आफन्तलाई जानकारी गराएका थिए ।
शल्यक्रियाका क्रममा बिरामीको अवस्थाको विषयमा बीचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाउभाउ हेर्दा हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटि र लापर्वाही नै मृत्युको मुख्य कारण भन्दै आफन्तले विरोध जनाएका थिए ।
घटनापश्चात् कर्णाली प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्कासँग छलफल हुँदा भिमाको केस हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको भन्ने जवाफ डाक्टरबाट आफन्तले पाएका थिए ।
तर, खड्काको यो भनाइ भिमाका आफन्त मान्ने पक्षमा देखिएनन् । डाक्टरहरूको लापर्वाहीका कारण आठमहिने नाबालिका दुधे छोरीलाई छोडेर भिमाले संसार त्याग्नुपर्ने अवस्था आउनुको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने परिवारका सदस्यले माग राखेका थिए ।