काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका मौलिक र जैविक उत्पादन उपभोक्तासम्म पुर्याउने लक्ष्यसहित काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ। जैविक कृषि उपजको प्रयोग, प्रवर्द्धन र ब्राण्डिङलाई मुख्य उद्देश्य बनाएर बजार स्थापना गरिएको हो।
देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलित विशिष्ट कृषि उत्पादनहरू उपलव्ध गराउने यो बजारमार्फत जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटी लगायत विविध खाद्यान्न तथा सामाग्री उपभोक्ताले एकै स्थानमा प्राप्त गर्न सक्नेछन् ।
बजार सञ्चालनसँगै कर्णालीलगायत दुर्गम क्षेत्रका किसानलाई कृषि उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्य लिइएको बजार सञ्चालक सुमन दाहालले जानकारी दिए । “एक स्थानीय तह, एक उत्पादन” भन्ने अवधारणाअनुसार कृषि उपजलाई ब्राण्डिङ गर्दै बजार विस्तार गरिएको दाहालले बताए ।
उनका अनुसार मौलिक बजारले कृषि सामग्री मात्र नभई देशभर उत्पादन हुने हर्बल कस्मेटिक्स, मसला, अदुवा–लसुनको पेस्ट, हस्तकला सामग्री र संस्कृति झल्काउने वस्तुहरूको समेत प्रवर्द्धन गर्नेछ ।
'हामी दीर्घकालीन रूपमा मुलुकको कृषि, ग्रामीण अर्थतन्त्र र स्थानीय उत्पादनको पहिचानलाई प्रबर्द्धन गर्न प्रतिबद्ध छौं, ' दाहालले भने, 'मौलिक बजारले देशको कृषि प्रणालीमा स्थायित्व ल्याउन सघाउनेछ ।'
स्थानीय उत्पादनको खपत बढाउँदै उपभोक्ता र उत्पादकबीच सिधा सम्पर्क जोड्ने प्रयास स्वरूप सञ्चालनमा आएको यो बजार राजधानीका लागि नयाँ उदाहरणका रूपमा स्थापित हुँदैछ।