काठमाडौँ । निर्वाचन गराउनुपर्ने माग राख्दै विद्यार्थीहरुले आरआर क्याम्पस अगाडी प्रदर्शन गरेका छन् । फर्जी डिजिटल कार्ड बनाएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले निर्वाचनको माग गर्दै प्रदर्शन गरेका हुन्।
उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रवेशद्वारमा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृर्जना भएको भन्दै क्याम्पस प्रशासनले मंगलवार बिहान निर्वाचन स्थगित गरेको थियो ।
सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने क्याम्पस प्रशासनले जनाएको छ । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।
निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति समेत जारी गरेका छन् ।
यता निर्वाचनको माग गर्दै प्रदर्शनमा होमिएका विद्यार्थी भने अनेरास्ववियुले पराजित हुने डरले क्याम्पसमा ताला लगाएको नेविसंघबाट निर्वाचनमा होमिएका एकजना उम्मेद्धारले जानकारी दिए । क्याम्पसमा हाम्रो पक्षमा माहोल राम्रो थियो र छ',उनले भने, 'हाम्रो पक्षमा राम्रो माहोल देखेकै कारणले तालाबन्दी गरियो ।'
अहिले निर्वाचन गराउनुपर्छ भन्दै नेपाल विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठन निर्वाचन हुनुपर्छ भन्दै प्रदर्शनमा रहेका छन् ।
