सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगन गरेको छ ।
स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । यसमा विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।
एक विद्यार्थीका अनुसार बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए । 'हामीले लेख्न सुरु पनि गरिसकेको थियौँ,' ती विद्यार्थीले भने, 'एक्कासि परीक्षा स्थगन भएको भनियो।'
यद्यपि विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा आधिकारिक, स्पष्ट जानकारी नगराएको उनले बताए । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ। यद्यपि कारण भने खुलाइएको छैन।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शोभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थगित भएको जवाफ दिए । उनले भने, ' उता स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसक्यो, निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिको तालमेल नमिल्दा यस्तो भएको होला ।'
यद्यपि विद्यार्थीलाई भने पूर्व जानकारी नगराएको बताइएको छ। एक विद्यार्थीले भने, 'यदि त्यसो हो भने पूर्व जानकारी गराउनुपर्ने, हामी त चुनावका लागि आएको हैन । भविष्यका लागि अध्ययन गर्न आएको हो ।' चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको उनले बताए।