काठमाडौँ । सुख्खा यामसँगै वन डँढेलोको जोखिम बढ्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय ललितपुरले कडा कदम चालेको छ । कार्यालयले वन क्षेत्रमा दाउरा जलाएको, आगो लगाएको वा लापरवाहीका कारण डढेलो लागेको पाइएमा ६० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय हुने जानकारी दिँदै चार बुँदे सार्वजनिक सूचना जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेका अनुसार विभिन्न माध्यमबाट वन क्षेत्रको अनुगमन तीव्र पारिएको छ। वनमा वा सार्वजनिक खुला ठाउँमा आगो लगाएको भेटेमा तुरुन्त खबर गर्न आग्रह गर्दै, सुरक्षाका लागि प्रशासनले जिल्लाभरका सम्बन्धित निकायहरूसँग समन्वय गरिसकेको उनले जानकारी दिइन् ।
डिभिजन वन कार्यालय ललितपुर अनुसार चैत्र १ गते (आज)देखि चैत्र ७ गतेसम्म वन डँढेलो सप्ताह मनाइँदैछ। यसको क्रममा सूचनामूलक जिंगल, प्रचारप्रसार, गोष्ठी लगायतका कार्यक्रमहरू सञ्चालन गरिने डिभिजन वन कार्यालयले जनाएको छ । अभियानको सुरुवात गोदावरीबाट सूचनामूलक जिंगल बजाएर गरिएको छ।
यस वर्ष हालसम्म डँढेलोको जोखिम कम देखिएको छ केही समयअघि लागेको डँढेलोलाई नियन्त्रण गरिए पनि अब हावा चल्ने, पातपतिंगर झर्ने समय सुरु भएकाले थप सतर्कता अपनाइएको डिभिजन वन अधिकृत हेम बहादुर थापाले बताए ।
थापाका अनुसार ललितपुरमा २०६ वटा सामुदायिक वन छन्। 'स्थानीय समुदायलाई प्रत्यक्ष संलग्न गराएर डढेलो रोकथाम तथा नियन्त्रण अभियान चलाइएको छ। नेपालभर, विशेषगरी ललितपुरमा ९९ प्रतिशत डँढेलो मानव कारणले लाग्ने भएकाले जनचेतना नै प्रमुख उपाय हो', थापाले भने।
वन क्षेत्रमा पिकनिक, गोठाला जान, रिसिइबीको भावना, वन्यजन्तु शिकार जस्ता कारणले डँढेलो लाग्ने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ । यदि कसैले वन क्षेत्रमा आगो लगाएको पाइएमा वन ऐन २०७६ र वन नियमावली २०७९ अनुसार कारबाही गरिने छ।
डँढेलो नियन्त्रणका लागि आवश्यक स्रोतसाधन परिचालन गरिँदैछ। बस्ती, वन तथा सम्पत्तिको सुरक्षा गर्न सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। प्रशासन कार्यालयले नागरिकलाई सचेत रहन र डँढेलो देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।