काठमाडौँ । प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले बालबालिकाहरूलाई संस्कारयुक्त प्राविधिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छन् ।
विज्ञान र प्रविधिको तीव्र विकासले समाजमा सकारात्मक प्रभाव पार्न सके पनि बालबालिकाहरूलाई नकारात्मक दिशातर्फ धकेल्ने सम्भावनाप्रति उनले चिन्ता व्यक्त गरिन्।
गएको बिहीवार, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ स्थित श्री हिमालय मावि तिजडाँडाले आयोजित ‘होली विशेष कार्यक्रम’ तथा ‘विद्यार्थी फेरि भेटौंला’ कार्यक्रमको उद्घाटन गर्दै सांसद रानाले बालबालिकाहरूलाई नैतिक शिक्षा र जीवनोपयोगी सीप प्रदान गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा विद्यालयबाट कक्षा १० उत्तीर्ण गरी आगामी एसईई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई विदाई गरियो। प्रमुख अतिथि सांसद रानाले मन्तव्य दिँदै भनिन्, “बालबालिकाहरू राष्ट्रका भविष्य हुन् । तर, आधुनिक प्रविधिको दुरुपयोगका कारण उनीहरू गलत बाटोतर्फ उन्मुख भइरहेका छन्। मोबाइल, सामाजिक सञ्जाल तथा रेडिमेड जीवनशैलीप्रति बढ्दो आकर्षणले उनीहरूलाई तनावको वातावरण सिर्जना गर्दै आत्महत्यासम्म गर्न बाध्य बनाइरहेको छ। यसलाई रोक्न अभिभावक, शिक्षक, बुद्धिजीवी तथा समाजको समान जिम्मेवारी रहन्छ।”
उनले बालबालिका मैत्री वातावरण निर्माण गर्दै घरदेखि विद्यालयसम्म सकारात्मक शिक्षा प्रदान गर्न सके मात्र समस्याको समाधान सम्भव हुने बताइन्। साथै, देश चरम गरिबीको चपेटामा परेको वर्तमान अवस्थामा विद्यालयहरूले कृषि शिक्षासँग जोडिएर बालबालिकाहरूलाई आत्मनिर्भर बनाउने पहल गर्नुपर्नेमा जोड दिइन्। “यदि हामीले कृषि शिक्षालाई प्राथमिकता दिन सक्यौं भने बाँझो जमिनलाई पुनः हराभरा बनाउन सकिन्छ,” उनले भनिन्।