काठमाडौँ । समाजमा शिक्षा र चेतनाको विकाससँगै अनेकौं सकारात्मक परिवर्तन भए पनि अशिक्षा, हिंसा, भेदभाव, र कुसंस्कारका जरा अझै गहिराइसम्म गाडिएका छन्। शिक्षित समाज र चेतनशील व्यक्तिहरूद्वारा नै धेरैपटक हिंसा, अन्धविश्वास, र असमानता जस्ता समस्या सिर्जना हुने गरेका छन्। यसका बाबजुद, समाज रुपान्तरणका प्रयासहरू जारी छन्, जसले सकारात्मक संकेतहरू देखाइरहेका छन् ।
यस्तै प्रयासको उदाहरण हो, सोसेक नेपालद्वारा सञ्चालित 'शसक्त महिला संवृद्ध नेपाल' कार्यक्रम । दैलेख जिल्लाको नारायण नगरपालिकाका विभिन्न वडाहरूमा यस कार्यक्रमले उल्लेखनीय सफलता हासिल गर्दै समाज परिवर्तनको आधारशिला तयार गरेको छ।
कार्यक्रमअन्तर्गत नगरपालिकाका विद्यालयहरूमा किशोरकिशोरी रूपान्तरण कक्षाहरू सञ्चालन गरिँदै आएको छ। कक्षामा सहभागी विद्यार्थीहरूले व्यक्तित्व विकास, घरायसी व्यवहारमा सुधार, र अन्धविश्वासविरुद्ध आवाज उठाउने आत्मविश्वास विकसित गरेका छन्। समाज सुधारका निम्ति उनीहरूको सक्रिय सहभागिताले दैलेखको विभिन्न विद्यालयहरूलाई सकारात्मक दिशातर्फ अगाडि बढाएको छ।
किशोरकिशोरीहरू मात्रै होइन, उनीहरूका अभिभावकहरू पनि यस कार्यक्रमबाट लाभान्वित भएका छन्। 'अभिभावक कक्षा' मार्फत परिवारिक संवाद प्रवर्द्धन गर्दै, जिम्मेवारी बोध र व्यवहार परिवर्तनमा उल्लेखनीय प्रगति देखिएको छ। जातीय छुवाछूत, महिनावारी सम्बन्धी कुप्रथा, छाउपडी, र अन्य हिंसाविरुद्ध खुला संवाद गर्न अभिभावकहरू सक्षम भएका छन्।
नारायण नगरपालिकालाई कार्यक्रमको सफलताले प्रभावित पारेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले कार्यक्रमको आवश्यकता स्वीकार गर्दै, यसलाई नगरपालिकाको अन्य वडाहरूमा पनि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ू'शसक्त महिला संवृद्ध नेपालु कार्यक्रमले समाजमा ल्याएको परिवर्तन एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले समुदायलाई आत्मनिर्भर र सचेत बनाउन ठुलो भूमिका खेलेको छ ।'
'शसक्त महिला संवृद्ध नेपाल' कार्यक्रमले समाज सुधारको अभियानमा कोशेढुंगा सावित भएको कार्यक्रम व्यवस्थापक पदमराज जोशीले बताए । उनका अनुसार, कार्यक्रमले नाम जस्तै काम गरेर समुदायमा चेतना र सहकार्यको भावना विकास गरेको छ।