काठमाडौँ । संघीय राजधानी काठमाडौँका विभिन्न ८ स्थानमा छठ मनाइदैछ । सूर्यको उपासना गरी मनाइने छठको मनाउने गरिन्छ ।
तराई मधेका केही क्षेत्रमा मनाइने छठ अहिले भने देशभर जस्तै मनाइन्छ । आपसी सद्भावको प्रतिक छठ पर्वलाई हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।
काठमाडौँ महानगरले छठका लागि ८ स्थान व्यवस्थापन गर्न लागेको छ । मेयर बालेन शाहले दिएको जानकारी अनुसार महानगरको वडा ८ मा पर्ने गौरीघाट, वडा नम्बर ३२ मा पर्ने कोटेश्वर दोभान र वडा नम्बर १ मा पर्ने कमल पोखरीमा व्यवस्थापन गरिएको छ ।
यस्तै, वडा नम्बर ११ को वंशाीघाट, १६ को बालाजु बाइसधारा, वडा १३ को धौखेल, वडा १४ को कुमारी क्लब र वडा १४ मै पर्ने भुवनेश्वरी मन्दिरमा पनि छठ व्यवस्थापन गरिदैछ ।
यी स्थानमा छठपर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिइएको मेयर शाहले जानकारी दिए । यस्तै सम्बन्धित वठाहरुबाट पनि प्रत्यक्ष काम भइरहेको उनको भनाइ छ ।