ललितपुर, १३ भदौं ।विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट २४२ जना महिला र ६४२ जना पुरुष सहित थप ८८४ जनामा देखिएको र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १६,५७८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए। तीमध्ये १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै छन्। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
भदौ १२ गते शुक्रवार ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने थप १२ जनाको मृत्यु भएको थियो। विगत २४ घण्टाको अवधिमा ११५१६ वटा नमुनाको परीक्षण गरिएको थियो।
सो अवधिमा २१३ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ८,०३५ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो। भदौ ९ गते थप ८५५ जनामा सङ्क्रमण र सात जनाको मृत्यु तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यसअघि भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो। यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
त्यसैगरी २४ घण्टामा काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना र भत्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।