ललितपुर, १३ भदौ । सरकारले कोरोना संक्रमितको उपचारका लागि तीनै तहमा गरेर कुल ६ हजार २ यस २ बेड थपेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको हो ।
उनले ६ सय ४९ वटा पालिकाहरूमा पाँच वटाको दरले संक्रमितको उपचारका लागि अस्पताल तयार गरिएको जनाए । पछिल्लो समय संक्रमित संख्या बढेपछि सरकारले संक्रमितको उपचारका लागि अस्पतालको व्यवस्थापन गरिरहेको छ ।
त्यसैगरी उपत्यकाका दुई अस्पतालसहित वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई पनि मन्त्रालयले कोभिड अस्पताल तोकेको छ। काठामाडौंका अस्पतालहरूमा जनमैत्री र कान्तिपुर अस्पताल छन्।
मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ । कोभिड–१९ बाट मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।
कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।
कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले ज्यान गएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी करिब १७ प्रतिशत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।