ललितपुर, १९ साउन । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन तागाधारीहरुले विधिपूर्व स्नान गरी नयाँ जनै लगाउनुका सार्थै हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउँदैछ । जनैपूर्णिमाका अवसरमा देशका विभिन्न जलाशय,कुण्ड तथा मन्दिरहरुमा तीर्थयात्रा गर्ने चलन छ ।तर यो साल भने कोरोना भाईरस(काभिड–१९)को माहामारीका कारण विभिन्न मठ–मन्दिरहरु बन्द भएको हुँदा यो पर्व प्रभावित भएका छ ।
श्रावण शुक्ल पूर्णिमा तिथिमा वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको नयाँ यज्ञोपवित ब्रह्मसूत्र वा जनै धारण गरिने हुँदा यस पूर्णिमालाई जनैपूर्णिमा भन्ने गरिन्छ । धार्मिक तथा पितृकार्य गर्नका लागि नभईनहुने जनै शास्त्रीय विधिपूर्वक बाटेर तयार पारीे यस दिन वैदिक मन्त्रले मन्तरेर धारण गर्ने परम्परा छ ।
यस दिन बिहानै जलाशयमा गई जौ कुश तील तुलसीमठको माटो जस्ता प्राकृतिक पवित्र वस्तुको प्रयोग गरी उपाकर्मका रुपमा स्नान गरेर सप्तर्षिसहित ऋषिमहर्षिहरुलाई तर्पण दिइन्छ । ऋषिहरुले नै जनैका सूत्रको साँस्कृतिक तथा आध्यात्मिक महत्व र अर्थबोध गराई व्रतबन्धपछि यसको धारण गर्नुपर्ने संस्कार बसालेका हुन् ।
जनैपूर्णिमाका दिन उनीहरुप्रति श्रद्धापूर्वक तर्पण गरिने हुँदा यस पर्वलाई ऋषितर्पणी भन्ने गरिन्छ । यसै दिन सम्भावित विघ्नबाधाबाट सुरक्षित हुने विश्वासका साथ विधिपूर्वक मन्त्रण गरिएको रुक्षासूत्र वा रक्षाबन्धन बाँध्ने गरिन्छ । तराईक्षेत्रमा यसै दिन दिदीबहिनीको हातबाट राखी बाध्ने चलन छ । यस दिन विभिन्न नौ थरीका गेडागुडी भिजाई टुसाएपछि पकाएर तयार पारिने विशेष परिकार क्वाँटी खाने चलन छ । आजै देशका विभिन्न शिक्षालय तथा प्रतिष्ठानमा संस्कृतभाषको सम्मानमा संस्कृत दिवस मनाइन्छ ।
जनैपूर्णिमाका अवसरमा आज देशभरिका महादेव मन्दिर,कुण्ड तथा तीर्थहरुमा मेला भर्ने चलन छ । काठमाडौको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वरमा स्नान गरी जनै लगाउने र रक्षाबन्धन गर्ने प्रचलन छ । यसै गरी रसुवाको गोसाइँकुण्डमा पनि स्नान,ध्यान, साधना गर्ने गरिन्छ ।
गोसाइँकुण्डको जल भित्रभित्रै बगेर ललितपुरको कुम्भेश्वरस्थित कुण्डमा निस्कने जनविश्वास छ । जनकपुरको गंगाधनुषसागर, सोलुखुम्बुको दूधकुण्ड,संखुवासभाको सभापोखरी,सिन्धुपाल्चोकको पाँचपोखरी,लम्जुङको दूधपोखरी, जुम्लाको दानसाँघु,डडेलधुराको भागेश्वरजाँत,खप्तडक्षेत्रको त्रिवेणी तथा बडिमालिका लगायतका तीर्थमा जनैपूर्णिमाको मेला लाग्ने गर्दछ ।
जनै पूर्णिमाको अवसरमा गोसाइँकुण्ड,पाँचपोखरी शैलुङ लगायतका क्षेत्रमा तान्त्रिक विद्याको साधना र सिद्धिका लागि लामा तथा झाँक्रीहरुले विधिपूर्वक पूजाआजा र परिक्रमा गर्ने गर्दछन् । यस वर्ष कोभिड –१९ को महामारीका कारण पशुपतिनाथ कुम्भेश्वर लगायतका मठमन्दिर प्रवेशमा रोक लगाइएकाले जनैपूर्णिमा पर्व र मेला प्रभावित भएको छ ।
र याे पनि हेरै