काठमाडौँ । भ्यालेन्टाइन विकका रूपमा यो सप्ताह मनाइँदा आजको दिन ‘हग डे’ का रूपमा मनाइन्छ । यस दिन प्रेमीप्रेमीकाले एक अर्कालाई अङ्कमाल गर्छन् । तपाईँ पनि यस दिन आफ्नो प्रेमी प्रेमीकाको लागि प्रेमले भरिएको अङ्कमाल गरेर आफ्नो प्रेमी–प्रेमीकालाई विशेष महसुस गराउनुहोस् ।
यस दिन प्रेम प्रगाढ बनाउने अवसर हुन सक्छ । यो दिन एक प्रेम र आत्मीयता महसुस गराउने दिन हो । त्यसैले आफ्नो प्रेमी–प्रेमिकासँग आत्मीयताको साथ ‘टाइट हग’ गर्नुहोस् ।
अङ्कमाल गर्नाले आपसी प्रेम अझ बढ्छ भने कयौँ शब्दले भन्न नसकेको कुरा एक अङ्कमालले महसुस गराउन सक्छ । अङ्कमाल न्यानो र आकर्षक भावना हो, जसले एक अर्कालाई आनन्दित बनाउँछ ।
एउटा प्यारो अङ्कमालले जो कसैको दिन उज्ज्वल बनाउन सक्छ । अङ्कमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो । यसले तपाईँको सम्बन्ध मात्रै राम्रो बनाउँदैन तपाईँको स्वास्थ्यलाई पनि निकै फाइदा पुर्याउने काम गर्छ ।
युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार अङ्कमाल गर्दा त्यसले शरीरमा लभ हार्मोन अक्सिटोसिनको स्तर बढाउँछ । जसले तपाईँको मुटुलाई स्वस्थ बनाउने काम गर्छ ।
त्यस्तै अङ्कमाल गर्दा तनाव कम हुनुका साथै स्मरण शक्ति पनि बलियो बन्छ । यसले रोग लाग्ने सम्भावना समेत कम गराउँछ भने मुड फ्रेस हुन्छ ।
अङ्कमाल गर्दा अर्को व्यक्तिसँग अझ नजिक हुन सजिलो हुन्छ भने सुरक्षा, माया र एक्लो नभएको भावना सञ्चार गर्छ।
यी हुन अङ्कमाल गर्नुका फाइदाहरू :
सम्बन्धलाई बलियो बनाउँछ
कुनै पनि सम्बन्धलाई अझ बलियो बनाउन अँगालो मार्नु सबैभन्दा उत्तम उपाय मानिन्छ । मनोवैज्ञानिक दृष्टिकोणबाट अँगालो मार्नेहरूबिच गरिएको अनुसन्धानअनुसार नियमित अँगालो मार्ने जोडीहरूबिचको सम्बन्ध अरूको तुलनामा प्रगाढ र लामो समयसम्म जाने गरेको पाइयो । अँगालोले बढाएको यो किसिमको सम्बन्धमा अरू किसिमका माया प्रेमहरू पनि बढी हुने गरेको पाइएको थियो ।
उच्च रक्तचाप नियन्त्रण
अँगालो मार्दा यसले हाम्रो उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्न मद्दत गरेको पाइयो । अँगालो मार्दा शरीरमा आएको परिवर्तनले अक्सिटोसिन पैदा हुन्छ र यो हाम्रो शरीरको रगतमा मिसिन थाल्छ । यो पदार्थ शरीरको रगतमा मिसिएपछि उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । त्यसैले तपाईँलाई पनि उच्च रक्तचाप रहेको छ भने आफूलाई मन परेको व्यक्तिसँग बेला बेलामा अँगालोमा बाँधिने गर्नुहोस् ।
सम्बन्धमा प्रेम बढाउँछ
कहिले काहीँ मायालाई दर्साउन नबोलीकन अँगालो हाल्दा यसले धेरै बोलेर माया दर्साएको भन्दा बढी प्रभाव पार्छ । यदि तपाई रातभर आफ्नो जीवनसाथीसँग अँगालो मारेर सुत्नु भएको छ भने बिहान उठ्दा तपाई धेरै नै खुसी भएको महसुस गर्नुहुन्छ । तर अनुसन्धानले जीवनसाथीसँग धेरै कम मानिसहरू मात्र नियमित अँगालो मार्ने गरेको बताएका छन् ।
एकआपसमा विश्वास बढ्छ
अँगालोले केबल शरीरलाई मात्र राम्रो नगरेर मनलाई पनि राम्रो गर्छ । यदि तपाई आफ्नो पार्टनरसँग नियमित रूपमा अँगालो मार्ने गर्नुहुन्छ भने तपाईँहरूबिच विश्वासको वातावरण अरूको तुलनामा अझ बढी बन्नेछ । अँगालो मार्दा एक आपसमा प्रेम र स्याहार बढी भएको समेत पाइएको देखिन्छ ।
डिप्रेसनलाई कम गर्छ
मस्तिष्कमा उचित रक्त प्रवाह हुन नसकेको कारणले गर्दा पनि मानिसहरूमा डिप्रेसन हुने गर्छ । यदि नियमित रूपमा आफ्नो अन्तरंगसंग अँगालो मार्ने हो भने रगतमा अक्सिटोसिनको मात्रा बढ्दै जान्छ । जसले तपाईँमा भएको डिप्रेसनको मात्रालाई कम गर्दै लैजान्छ । त्यसैले सम्भावित डिप्रेसनबाट जोगिन मन छ भने तपाईँले नियमित रूपमा आफ्नो प्रियतमसँग केही बेर अँगालो मार्ने गर्नुहोस् ।
मीठो निन्द्रा लाग्छ
जसले आफ्नो पार्टनरसँग अँगालो मारेर सुत्छन् उनीहरू एक्लै सुत्ने व्यक्तिको तुलनामा गाढा निन्द्रा लिन्छन् भन्ने अनुसन्धानले देखाएको छ । यस्तो हुनुको मुख्य कारणमा पार्टनरको अँगालोमा धेरैले आफूलाई सुरक्षित महसुस गर्ने हुनाले पनि निन्द्रा गाढा लागेको हो । यदि रातको निन्द्रा राम्ररी पर्ने हो भने भोलिपल्ट शरीर फुर्तिलो हुनुका साथै अनुहारमा चमक समेत हुने छ ।
लामो आयुको भइन्छ
नियमित रूपमा अँगालो मार्ने जोडीहरू बढी नै खुसी हुने गर्छन् । अँगालो मार्दा उनीहरूको शरीरमा उत्पादन भएको अक्सिटोसिनको मात्राले उनीहरूमा सकारात्मक भावहरू आइरहेको हुन्छ । सकारात्मक सोच पैदा भएको कारण उनीहरूको आयु तनावमा रहनेको तुलनामा बढी हुने गर्छ ।-जोयनेपाल