क्षितिज
ललितपुर । बज्रबाराही मन्दिर आडैमा कलात्मक आँखीझ्यालको बेजोड प्रदर्शनीले आकर्षक देखिने पालिका भवन प्रवेश गरे लगत्तै त्यहाँ देखिने बनझार जस्ता तारका गुजुल्टाले त्यसको आकर्षणमा पानी पानी बनाइदिन्छ । ई–पालिका मार्फत सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा दिई वडाबाटै अधिकांश सेवा दिएर नगरपालिका धाउने झन्झटबाट मुक्त गराउनु पर्नेमा आजको समयमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने झण्डै साँढे सत्ताइस करोडको लागतमा राणाकालिन झल्को दिने त्यो भवनको बार्दलीले सेवाग्राहीको मलिन अनुहार हैन, रैतिको टिठ लाग्दो बाध्यता देख्दछ, जहाँ झ्यालबाट जदौ मालिक भन्ने गुञ्जाहटको आकांक्षा गरिरहन्छ न कि सेवाग्राहिको पुकार ।
रातारात कालोपत्रे गरेर उद्घाटन गरिएको उक्त भवनका बार्दलीबाट कटुवालहरु जब ट्याम्केको ठाउँमा लाउड स्पिकर लिएर “सूचना, सूचना, सूचना, यति गन्दा फलानोको यति, तिलानोको उति” भनेर चिच्याउँदै थिए, तब भवनमा लाखौँ रकम खर्चमा पूर्ण विवरण राखेर तत्काल सम्पादन गरी जानकारी दिन सकिने लिडलाइट बोर्डले गिज्याउँदै थियो ।
हाम्रो नेपाली समाज, हजुरबुवाले त्यो घर बनाउनु भयो, बुवाले त्यस्तो घर बनाउनु भयो, मैले यो घर बनाए भन्ने जुन होडमा चलेको छ, आजको युगमा अनुत्पादक क्षेत्रमा त्यति धेरै लगानी गरेर बनाइएको भवनले गणतान्त्रिक मुलुक नेपालमा स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु¥याउँछौ भनेको सम्झिँदा सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्ला भनेको त, उहि राणाकालिन समयमा नयाँ तथा छोटे राजाहरुले आफ्नो भोग विलासका लागि बनाइएका भवनको स्मरण गराउँछ । त्यति नै लागतमा एउटा विद्यालय वा अस्पताल बनाएर नगरबासीलाई सेवा सुविधा दिएको भए सायद, स्थानीय सरकार अनि त्यसमाथि पनि जन प्रतिनिधि वास्तवमै सह्रानीय ठहरिन्थे होलान्, तर अनुत्पादक क्षेत्रमा फजुलको लगानीले युवा भनेको केवल उमेर समूह मात्रै नभएको सचित्र वर्णन गर्दछ ।
एकातिर कार्यालय परिसरमा खानेपानी आफूले लैजान नपाउने, अर्कातिर भित्र नपाउने त्यस काकाकुल महलमा पंक्तिकारले त्यो लामो १६ घण्टे समय बिताइ रहँदा केवल चुनावी मत मात्रै गनेन त्यहाँ राजनीतिको दूषित र विषाक्त पलहरुको साक्षी समेत बन्यो, त्यसको बहस अन्य बसाइमा गरौँला ।
मध्यरातमा कटुवालहरु आफ्नो गुँडमा मस्त निद्रामा रमाइरहेको बेला महलको परिसरमा मत परिणामको पछिल्लो जानकारी कुरेर बसेका तत्कालिन मतदाता र सदाकालिन करदाताहरु त्यो दरबारीया झ्यालमा आएर कस्ले इसारा गर्ला र जाउँला भनेर छट्पटिएको स्पष्ट देखिन्थ्यो ।
आफू बसेका र शासन गर्न बनाइएको त्यो महलले किमार्थ पनि स्थानीय सरकार, युवा वा वर्तमान समयको सम्बोधन गर्दैन ।
योजना विहिन र चेतना विहिनको टुकडीले–
जनताले कर तिरिहाल्छन्,
सरकारले पैसा दिइ हाल्छ,
अनि,
के गर्ने भन्दा यसो, आफूलाई घुम्नि कुर्ची राखेर शासन जोत्न पनि पाइने काम गरेको जस्तो पनि देखिने हेतुले निर्माण गरिएका यस्ता देशभरिका पालिका भवनले वर्तमान समयको माग, आवश्यकता र स्थानीयको करको मूल्यको पहिचान त गर्न सकेको छ ? शंकै छ ।
पालिकाको सेवा सुविधा त वडाबाटै लिन सकिन्छ,
त्यत्रो बडेमानको विलासी भवनले अधिकारको विकेन्द्रीकरण सिद्धान्तलाई लोप्पा खुवाउँदै नयाँ छोटे राजाहरु रैतिहरुको तमासा हेर्न र जदौ मालिक भनेको सुन्नका लागि बनाइएका यस्ता गजेन्द्र महलहरुले स्थानीय सरकारको परिभाषालाई गिज्याइरहेको भान भएको छ ।
(क्रमश)