ललितपुर, १० फागुन । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा आइतबार काठमाडौं आइपुगेको छ । सरकारले गत बुधबार २० लाख मात्रा खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो खोप आइपुगेको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट किनेर आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपु¥याइएको कोरोनाविरुद्धको खोप कोभिसिल्ड । २० लाख मात्रा खोप किनिएकामा पहिलो चरणमा १० लाख ल्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप फागुन २३ गते सुरु हुने देशव्यापी अभियानमा प्रयोग गरिनेछ । हाल टेकुस्थित कोल्ड रुममा राखिएको खोप आवश्यकताअनुसार प्रदेशमा पठाइनेछ । प्रदेशहरूबाट पालिकाका केन्द्रसम्म पु¥याइनेछ । अभियानअन्तर्गत ५५ वर्षमाथिका र प्राथमिकतामा राखिएका खास समूहका गरी करिब ४० लाखभन्दा बढीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । खास समूहमा विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, औषधि पसल र प्रयोगशालामा कार्यरत कर्मचारी छन ।
‘५५ वर्षमाथिलाई खोप दिन तयारी गर्दै छौं,’ मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । ‘खोप लगाउने अभियान चलेकै बेला बाँकी १० लाख मात्रा पनि आइपुग्नेछ ।’ यसअघि भारत सरकारद्वारा अनुदानमा प्राप्त १० लाख मात्रामध्ये हालसम्म सरकारसँग करिब ५ लाख मात्रा खोप बाँकी छ । ‘कोभ्याक्स सुविधाअन्तर्गतको निःशुल्क खोप पहिलो चरणमा फेब्रुअरीको अन्त्य वा मार्चको सुरुतिर आइपुग्नेछ,’ गौतमले भने ।
पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड–अस्ट्रेजेनेकाको खोप आउनेछ । कोभ्याक्सबाट विभिन्न चरण गरी २० प्रतिशत जनसंख्याका लागि निःशुल्क खोप नेपालले पाउनेछ ।
यसअन्तर्गत खोप र सिरिन्ज निःशुल्क हुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पु¥याउने खर्चसमेत दाताले नै बेहोर्ने मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताए । सरकारले कोभाक्सबाहेक सहुलियत मूल्यमा खोप खरिद गर्नसमेत निवेदन दिएको छ । यसअन्तर्गत कोभाक्सले निर्धारण गरेको खोपको विश्वव्यापी मूल्य भुक्तानी गरेर किन्न सकिन्छ ।
सरकारसँग हाल अनुदानको करिब ५ लाख, खरिद गरेको १० लाख र कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख ५६ हजार मात्रा गरी ३७ लाख ५६ हजार मात्रा खोप हुने भएकाले अभियान सुरु गरेको मन्त्रालयले जनाएको छ । चीनबाट अनुदानअन्तर्गत ५ लाख मात्रा खोपसमेत छिट्टै आइपुग्ने अनुमान छ । ‘यति खोप अभियानका लागि पर्याप्त हुनेछ,’ डा. गौतमले भने, ‘दोस्रो मात्रा खोप लगाउन न्यूनतम ८ देखि अधिकतम १२ साता लाग्नेछ ।
र याे पनि हेराै