दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको अधिकारीहरूले बताएका छन्।
च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन । उक्त घटना साँझ ७ः३० बजे भएको थियो।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।
उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताएको छ । आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्न् “मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। उहाँहरूले फोन उठाइरहनुभएको छैन।”
“म पनि अर्को होटलको क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ। के गर्ने त्यो मलाई थाहा छैन, “उनले भनिन् “उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो । अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए ।”
त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिए बिबिसिले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघेको छ। कोभिड–१९ भएर मृत्यु हुने बिरामीको सङ्ख्या पनि ३,००० कटेको छ।
अधिकांश सङ्क्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाएको छ ।
यो पनि पढ्नेहोस
कोरोना संक्रमणको त्रासले विद्यालय बन्द
कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै गएको भन्दै कैलालीस्थित धनगढी नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । धनगढी उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म फागुण २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
नगर प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नोबेल कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन फैलिँदै गएकोले सो अवस्थाबाट जोगिन शिक्षा सरोकारलासँगको मिति २०७६ साल फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार यस धनगढी उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तिम परीक्षा तथा विद्यालयहरुको आन्तारिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरु अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७६ साल फागुण २५ गतेदेखि लागू हुनेगरी बन्द गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’