काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जीत दर्ता गराएको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गरेको हो ।
टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए ।
देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए । अन्तिम ओभरमा कर्णालीलाई जीतका लागि ९ रन आवश्यक थियो । क्रिजमा थिए मक्सुद र अर्जुन । सुरुवाती ३ बलमा अर्जुनले लगातार २ रन लिँदै जीतका लागि आवश्यक रन र बल बराबर गरेका थिए ।
चौथो बलमा अर्जुन रन आउट हुन पुगे । त्यसपछि कर्णालीलाई जीतका लागि २ बलमा ३ रन आवश्यक थियो । अन्तिम ओभरको पाँचौं बलमा मक्सुदले चौका हान्दै कर्णालीलाई जीततर्फ दोहोर्याए ।
बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए । त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।
चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, विपीन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णालीका विपप्न शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिए ।