ललितपुर, २६ भदौ । काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले डीपीआर तयार गर्न भारतबाट केही दिनअघि औपचारिक चिठी आइसकेको बताए । त्यसको जवाफसमेत पठाइएको जानकारी उनले दिए ।
डीपीआरका लागि कतिजना जनशक्ति आउने र के के सामग्री ल्याउने भन्नेबारेमा जवाफ पठाइसकेको मिश्रले बताए ।
कोङ्कर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्वे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो । गत वर्ष २०७६ भदौ १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सो अध्ययनको प्रस्तुतिसमेत गरिएको थियो ।
नेपाल र भारतमैत्री सम्बन्धको प्रतीकका रूपमा रेलमार्ग बन्ने छ । डीपीआरका लागि अनुमति दिन रेल विभाग तयार रहेको बताउँदै उनले डीपीआर तयार गर्न भारतबाट आउने जनशक्तिको सङ्ख्या र उपकरणबारेको सूची तयार गरेर पठाउन कोङ्कर्ण रेल्वेलाई पत्र पठाइसकिएको जानकारी दिए । भारतीय पक्षबाट एक हप्ताभित्र प्रतिउत्तर आउने उनले बताए ।
त्यस्तै सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत भएक छन् । भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो ।
‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । त्यस्तै, दुवै देशले सीमाबारे गरिएका सहमति र नियमलाई पालना गर्दै सीमामा शान्ति कायम गर्ने र स्थितिलाई तनावपूर्ण बनाउने कुनै पनि काम नगर्ने पनि सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ ।
रुसले आयोजना गरेको सांघाई कोओपरेसन अर्गनाइजेसन समिटको साइडलाइनमा दुई नेताबीच छलफल भएको थियो । लाइन अफ एक्चुअल कन्ट्रो (एलएसी) भनिने ३ हजार ४८८ किलोमिटर लामो सीमा क्षेत्रमा भारत र चीनले गत मे महिनादेखि सैन्य उपस्थिति बढाउँदै आएको छ । तनाव बढ्दै गएपछि केही दिन अघि दुई देशको सीमामा सन् १९७५ पछि पहिलोपटक गोली प्रहार भएको थियो ।
विवादलाई कम गर्न सैन्य कमान्डर र कुटनीतिज्ञहरुबीच विभिन्न चरणको वार्ता तथा वाङ र जयशंकरबीच दुईपटक फोनवार्ता भए पनि तनाव कम हुन सकेको थिएन । यसअघि, मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ समकक्षी वेई फङ्घेबीच तनाव कम गर्ने सहमति भएको केही दिनपछि नै सीमामा पुनः तनाव बढेको थियो ।