काठमाडौं । रौतहटका तीन स्थानीय तहमा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहमा ३९ पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मृत्युलगायत कारणले रिक्त रहेका पदमा उपनिर्वाचन हुन लागेको हो ।
जसअनुसार रौतहटको तीन स्थानीय तहमा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । ईशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
यस्तो छ २०७९ सालको निर्वाचनको अंकगणित
ईशनाथ नगरपालिका–७ को अध्यक्षमा एमालेका शेख खलीउल्ला निर्वाचित भएका थिए । उनले ६८३ मत ल्याएका थिए । यसैगरी, कांग्रेसका शेख अब्दूल खलिकले ५७८, एकीकृत समाजवादीका सहरे आलमले ३२७, स्वतन्त्र उम्मेदवार शहीद आफाकले ६७ र जनमतका शेख मनीरले २० मत ल्याएका थिए । यो वडामा सबै सदस्यमा एमालेले जित्दा कांग्रेसको पछ्याएको थियो ।
यस्तै, राजपुर नगरपालिका–६ को वडाअध्यक्षमा कांग्रेसका शेख मोजरे आलमले ५३४ मत ल्याएर निर्वाचित भएका थिए । उनलाई जसपा नेपालका मोहम्मद नसिम अख्तरले ४६५, एकीकृत समाजवादीका जिकरुवाहले ३२०, एमालेका उदयनारायण प्रसाद जयसवालले २८४ र माओवादी केन्द्रका नुरुल हक मंसुरले १७ मत ल्याएर पछ्याएका थिए । यस वडामा सबै चारवटै सदस्यमा कांग्रेस निर्वाचित भयो ।
गढीमाई नगरपालिका–८ को वडाअध्यक्षमा जसपा नेपालका रामाज्ञा राय यादवले ७६४ मत ल्याएर निर्वाचित भएका थिए । उनलाई कांग्रेसका बैद्यनाथ ठाकुर लोहारले ५६१, एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९, लोसपा नेपालका इस्लाम मोहम्मद नटले २४१, एमालेका रामएकवाल ठाकुर लोहारले २९, माओवादी केन्द्रका सर्वजीत महरा चमारले १०, स्वतन्त्र उम्मेदवार संगमकुमार यादवले ८ र जनतम पार्टीका सुरेन्द्र राउत कुर्मीले ६ मत ल्याएर पछ्याएका थिए ।