कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ८० भन्दाबढि देशमा संक्रमण भएको छ । जसमध्ये इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।
भाइरसको संक्रमण बढ्दै गएपछि अप्रिल ३ सम्मका लागि व्यावसायिक फुटबल खेल र ठूला खेल प्रतियोगिताहरु दर्शकबिना खेलाइने इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले जानकारी दिएका छन् । फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कोन्टेले भाइरसको जोखिम न्यूनीकरणका लागि जिम्मेवार व्यवहारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । ठूला भेला, जमघट र खेल प्रतियोगिताहरुमा नजाँदा संक्रमणको जोखिम कम हुने पनि उनले बताएका छन्।
यसैबीच इटालीका सबै विद्यालय र विश्वविद्यालय मार्च १५ सम्मका लागि बन्द गरिने भएको छ। कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै सबै शैक्षिक संस्था बन्द गरिएको शिक्षामन्त्री लुसिया एज्जोलिनाले बताइन्।
इटाली र इरानमा संक्रमण र मृतकको संख्या बढिरहँदा बुधबार पोल्यान्ड, एन्डोरा, अर्मे्निया र अर्जे्न्टिनामा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको छ।
त्यस्तै कोभिड–१९ का कारण इरानमा ९२ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ। बुधबार थप १५ जनाको मृत्यु भएको छ भने ५ सय ८६ जनामा संक्रमण देखिएको छ।
बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ। बुधबार थप ३१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ। बुधबार थप १६० जनामा संक्रमण भएको पनि स्वास्थ्य आयोगले जनाएको छ। बिहीबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ४ सय ३० पुगेको छ भने करिब ५२ हजार निको भएका छन्।
चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। बिहीबार बिहानसम्म दक्षिण कोरियामा संक्रमितको संख्या ५ हजार ७ सय ६६ रहेको छ भने ३५ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले कोरोनाविरुद्धको लडाइँलाई युद्धको संज्ञा दिएका छन्।
अमेरिकामा पनि कोभिड–१९ को संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ। अमेरिकामा बिहीबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने १५८ जनामा संक्रमण देखिएको छ।त्यस्तै जापानमा १२ जनाको मृत्यु भएको छ भने एक हजार ३७ जनामा संक्रमण देखिएको छ।
त्यस्तै कोभिड–१९ को संक्रमणबाट फ्रान्समा ४, स्पेन, हङकङ, अस्ट्रेलिया र इराकमा २–२ जनाको मृत्यु भएको छ भने थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ।
बिहीबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित रहेका छन्। ५३ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।