लितपुर, २९ साउन । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ५२५ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत बिहीवार जनाएको छ ।
यो वृद्धिसँगै कोभिड–१९ बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४,९५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन्।
गएको एक सातामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ छ। सबैभन्दा सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,५९९ जना र वागमती प्रदेशमा १,७०३ जना रहेका छन्।
आज बिहिबार काठमाडौं उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १११ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । देशभर ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा १०,८५९ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म ४८३,०३८ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सो अवधिमा १०९ जना रोगमुक्त प्रमाणित भएका थिए। अहिले देशभरि क्वारन्टीनमा १४,७६९ जना छन्।
प्रदेश १ मा बिहीवार ११५ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ८३ जना पुरुष र ३२ जना महिला रहेका छन्। सङ्क्रमितहरु मोरङ्गका ८८, सुनसरीका १९, इलामका ४, झापा र उदयपुरका १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसँगै प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १,६२६ पुगेको छ। तीमध्ये ७२५ जना सक्रिय सङ्क्रमित रहेका छन्। सङ्क्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। मृतक सबै मोरङ्ग जिल्लाका पुरुष हुन्।
र याे पनि हेराैं