ललितपुर, २२ असार । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा परेको छ । प्रभावित हुनेमध्ये भारत तेस्रो नम्बरमा परेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पनि पछि पार्दै भारत तेस्रो स्थनमा पारेको हो ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८२२ जनाको मृत्यु भइसकेको छ ।
तामिलनाडुमा अहिलेसम्म एक लाख ११ हजारभन्दा धेरै संक्रमित फेला पर्दा एक हजार ५१० जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा पनि ९९ हजारभन्दा संक्रमित फेला परेका छन् भने तीन हजार ६७ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म २७ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७८५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७५७ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि ११ हजारभन्दा धेरै संक्रमित भेटिँदा ९५ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार लाख २४ हजार ४३३ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् ।