ललितपुर, फागुन १५ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परि दिवंगत हुनुभएको आज एक वर्ष पुगेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका (१० सिस्नेभिरमा एयर डाइनेस्टीको हेलिकोप्टर अघिल्लो वर्ष आजकै दिन दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनका लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार
सबैको मृत्यु भएको थियो ।
हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (बिहीबार) आज स्वर्गीय रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु सम्झनामा पहिलो स्मृतिसभा आयोजना गरेको छ ।
त्यसैगरी रविन्द्र अधिकारी समृति प्रतिष्ठानले पनि दिवंगत मन्त्रीको सम्झनामा पोखरा सभागृहमा प्रथम स्मृति दिवस मनाउँदै छ । स्मृति दिवस समारोहमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ ।