ललितपुर, १२ कात्तिक । सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भएको छ । केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन अनि स्थानीय तहको निर्वाचनमा भाग लिन मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ ।
यसैलाई मध्यनजर गरी काँग्रेसले महाधिवेशन फेरि नयाँ कार्यतालिका ल्याएको छ । तर, दुई वर्षदेखि महाधिवेशनको तयारीमा रहेको काँग्रेस कार्यतालिका हेरफेरमै रुमलिएको छ ।
काँग्रेसले मंसिर ९–१३ को महाधिवेशन कार्यकालिका मंसिर २४–२६ का लागि सारेको छ । अहिलेसम्म सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन ।
यीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यताको सूचीसमेत सार्वजनिक भएको छैन । रसुवा र रौतहट जिल्ला बाहेकका ११ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ । कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ । यसअघि नै काँग्रेसले ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ ।