ललितपुर, २१ असार । प्रमुख श्रम गन्तव्य मुलुकहरूले कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन ।
कुवेतले आउँदो साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिँदै छ । साउदी अरब, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लगिरहेका छन ।
कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो । कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । ‘खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी,’ उनले भने, ‘हाम्रो भविष्यमाथि खेलवाड भयो ।’ कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।
यूएईले वैशाख २३ देखि नेपालबाट कामदार लिएको छैन । कोरोनाको ठूलो मारमा परेको भारतलाई भने उसले खुला गरेको छ । कात्तिकयता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको छ । कामदार छनोट गरी उडान भर्ने बेला यूएईले नेपालमाथि प्रतिबन्ध लगाएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालमा कोरोनाको संक्रमण दर घटिरहेको हुनाले प्रतिबन्ध खोल्न यूएई सरकारलाई अनुरोध भइसकेको बताए ।
‘नेपालले खोप उपलब्ध नगराएसम्म यूएईले कामदार लिने सम्भावना देखिँदैन,’ त्यहाँ कार्यरत एक नेपाली व्यवसायीले भने, ‘यूएईको सर्त नै खोप हो ।’ यूएईको स्वास्थ्य मन्त्रालयले गत असार ९ मा जारी गरेको सूचनाअनुसार फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड– अस्ट्राजेनेकाको खोपलाई मात्रै त्यहाँ मान्यता दिइएको छ । अक्सफोर्ड– अस्ट्राजेनेकाको कोभिसिल्ड खोप पहिले भारतबाट ल्याइए पनि हाल उपलब्ध छैन । सिनोफार्मको भेरोसेल खोप नेपालमा ल्याइए पनि पर्याप्त छैन ।
कुवेतले कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै नेपालबाट कामदार लगेको छैन । आउँदो साउन १७ गतेदेखि भने खोप लगाइसकेका कामदार आउन पाउने सूचना जारी गरेको छ । कुवेतले पहिला नै भिसा भएका तर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । तर कुवेत जान त्यहाँको सरकारले अनुमोदन गरेका अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोप लगाउनुपर्नेछ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने कुवेत सरकारले जनाएको छ । ‘कुवेतले भनेको खोप हाम्रोमा छैन । हामी नेपालको यथार्थता जानकारी गराउने प्रयासमा छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने ।
सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरबले एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रु नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । नागरिक उड्डयन प्राधिकरण, साउदीका अनुसार त्यहाँ जाने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको आधिकारिक प्रमाणपत्र पेस गर्नुपर्छ ।