नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरोकिएपछि भारत सरकारले लकडाउनलाई थप दुई साताका लागि बढाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्बाउने बताएका छन् ।
यसअघि भारतले मार्च २४ मा भारत सरकारले आगामी मंगलबारसम्मका लागि लकडाउन घोषणा गरेको थियो । प्रधानमन्त्री मोदीले उक्त अवधि सकिनुअगावै लकडाउन बढाउने निर्णय लिने बताइएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै प्रधानमन्त्री मोदी लकडाउन अवधि बढाउने निष्कर्षमा पुगेको पुष्टि गरेका छन् । केजरीवालले त सरकारले औपचारिक निर्णय गर्नुअघि नै निर्णयको स्वागत गरिसकेका छन् ।
‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही निर्णय लिनुभएको छ । हामीले पहिले नै लकडाउनमा जाने निर्णय गरेकाले अन्य विकसित मुलुकहरूको भन्दा भारतको अवस्था राम्रो छ । लकडाउन अन्त्य र्गयौं भने यी सबै उपलब्धि खेर जानेछ । त्यही भएर पनि लकडाउन बढाउनु महत्त्वपूर्ण थियो,’ केजरीवालले ट्वीटरमा लेखेका छन् ।
त्यसैगरी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रधानमन्त्री मोदीले लकडाउन लम्बाउने विषयमा छलफल गरेको खुलासा गरेकी छन् । ‘भिडियो कन्फरेन्सका दौरान प्रधानमन्त्रीले लकडाउन ३० अप्रिलसम्म लम्बिने बताउनुभयो । हामीहरुको धारणा पनि त्यही हो,’ मुख्यमन्त्री बनर्जीलाई उद्धृत गर्दै कोलकातास्थित स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीले शनिवार बिहान कोभिड–१९ को संक्रमणको पछिल्लो अवस्था र नियन्त्रण तथा रोकथामबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । करिब चार घण्टा चलेको भिडियो कन्फरेन्समा मुख्यमन्त्रीहरुले महामारीको पछिल्लो अवस्था र यसको नियन्त्रणका लागि चाल्नुपर्ने उपायहरुबारेमा पनि सझुाव दिएका थिए ।
मोदीले मुख्यमन्त्रीहरुबाट लकडाउनको प्रभावकारिता र यसलाई निरन्तरता दिने नदिने सम्बन्धमा पनि सुझाव मागेका थिए । त्यसको जवाफमा प्रायस् सबैजसोले भाइरसमाथि पूर्ण नियन्त्रण पाउन लकडाउन थप दुई साता लम्बाउनुपर्ने धारणा राखेका थिए ।
हुन त कतिपय राज्य सरकारहरुले केन्द्र सरकारले निर्णय गर्नुअघि नै लकडाउन लम्बाउने निर्णयसमेत गरिसकेका छन् । दिल्ली, महाराष्ट्र, तेलंगाना, पन्जाब, पश्चिम बंगाल, उडिसालगायत राज्यले यसअघि नै लकडाउन थप्ने बताइसकेका छन् ।
दोस्रो चरणको लकडाउन यसअघिको तुलनामा केही खुकुलो हुने बताइएको छ । अबको लकडाउनमा ठूला उद्योग र कृषि क्षेत्रका लागि भने आफ्नो गतिविधि सुचारु गर्न छुट दिइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लामो समय लकडाउन गर्दा केही उद्योगहरु उठ्नै नसक्ने गरी धराशायी बनाउने र गहुँलगायतका रबी थन्काउने सिजन पनि भएकाले पनि उद्योग र कृषि क्षेत्रका लागि केही खुकुलो बनाउने सम्भावना छ ।
मोदी सरकारले लकडाउन लम्बाउने निचोडमा पुग्नुका पछाडि विगत केही दिनयता कोरोनाको भाइरसको संक्रमणमा भइरहेको तीव्र वृद्धि नै प्रमुख कारण हो । पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या करिब साढे सात हजार नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्याकंअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७ हजार ८ सयभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये २ सय ४९ को मृत्यु भएको छ भने ६ सय ५० भन्दा बढी निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा मात्रै थप एक हजार जनामा संंक्रमण पाइएको छ भने चालिसको मृत्यु भएको छ ।
सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ । त्यहाँ १ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय १० जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा बढी संक्रमण महाराष्ट्र र त्यसपछि दिल्लीमा देखिएको छ । दिल्लीमा शुक्रबार मात्रै १ सय ८३ वटा नयाँ केस पहिचान भएको थियो । अहिलेसम्म एक दिनमै संक्रमित संख्यामा भएको यो सबैभन्दा उच्च वृद्धि हो ।
भारत कोरोनाको पहिलो केस २ माघमा पहिचान भएको थियो । तीन महिनाको अवधिमा भाइरसको संक्रमण पूरै भारतभर नै फैलिसकेको छ । यसबीच कतिपय राज्यले कोरोना भाइरसको संक्रमण फैलन नदिन विभिन्न स्थानलाई ‘हटस्पट’ घोषणासमेत गरेका छन् । त्यस्तो घोषणा गर्नेमा दिल्ली, यूपी, महाराष्ट्र, कर्नाटकलगायतका राज्य छन् । राजधानी दिल्लीमा २० स्थानलाई ‘हटस्पट’ तोकिएको छ । ती स्थानलाई पूर्णरूपमा बन्द गरिएको छ । अर्थात् ती ठाउँबाट बाहिरिन र प्रवेश गर्न रोक लगाइएको कान्तिप’रमा खबर छ ।