ललितपुर, १० चैत । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरूले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको थियो ।
२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार प्राविधिकलगायतको सम्पूर्ण डिजाइन त्यसै किसिमले तयार गरिएको छ ।
दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै पानी लाइनबाट सिधै ७ मिटर अर्थात् अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । ‘पाइप बिछ्याउने काम र पोखरी (ठूला पानीट्यांकी) निर्माण गरिसकेका छौं, पानी पनि त्यसै किसिमले वितरण गर्छौं,’ उनले भने ।
मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट करिब ५१ करोड लिटर पानी उपत्यकामा भित्रिने र ४० लाख जनताले सामानुपातिक हिसाबले उपयोग गर्न सक्ने उनले बताए । थोक वितरण प्रणाली (मुख्य) को पाइपमा पानी पठाएर परीक्षण भइसकेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी नयाँ पाइपबाट दैनिक ३ करोड लिटरका दरले ल्याएर परीक्षणसमेत गरिसकेको उनले बताए । ‘महांकाल पोखरीमा ल्याई त्यहाँबाट अन्य पोखरीमा पठाएर परीक्षण गरिसकेको छौं,’ उनले भने, ‘केही बस्तीका पाइपमा पनि पानी पठाएर परीक्षण गरेका छौं ।’ अनामनगरलगायत क्षेत्रका करिब १५ हजार धाराको समेत परीक्षण गरिएको उनले बताए ।
हालसम्म पाइपमा कतै ठूलो चुहावट नदेखिएको मेलम्ची आयोजना निर्देशनालयका प्रमुख कमल श्रेष्ठले बताए । ‘तीव्रतासाथ पाइप परीक्षण– लगायत काम अघि बढाएका छौं,’ उनले भने, ‘विभिन्न ठाउँमा धारा पनि परीक्षण भइरहेको छ ।’ पानी पोखरीमा खास समस्या नदेखिएको भन्दै उनले गत वर्ष परीक्षण गर्दा पाइपमा चुहावट भएको बताए । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला ट्यांकी) निर्माण सम्पन्न भएको छ । १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको भन्दै आयोजनाले ती पोखरीको परीक्षण भइरहेको जनाएको छ ।
अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पानी वितरण गरिनेछ । आरुबारीमा ८ हजार ५ सय, बाँसबारीमा ९ हजार ५ सय, महांकालमा ८ हजार, खुमलटारमा ९ हजार ५ सय, बालाजुमा ७ हजार, भक्तपुरको टिगनीमा ३ हजार, महाराजगन्जमा ७ हजार ५ सय, कीर्तिपुरमा ६ हजार र धोबीघाटमा ८ हजार ५ सय घनमिटर क्षमताको पोखरी निर्माण भइसकेको उनले बताए । कटुन्जेमा ६ हजार घनमिटर क्षमताको पोखरी निर्माण भइरहेको छ ।
मुआब्जा विवादले गर्दा भक्तपुरको कटुन्जेमा पोखरी निर्माणमा ढिलाइ भएको उनले बताए । ‘८५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने । ती पोखरीबाट मुख्य पाइप र त्यसपछि सहायक पाइपमा पानी पठाइने उनले बताए । सहायक पाइप लाइनबाट समानुपातिक प्रणालीबाट प्रत्येक व्यक्तिका घरमा पानी वितरण गरिनेछ । ‘कुनै घरमा थोरै, कुनैमा धेरै पानी वितरण हुँदैन,’ उनले भने, ‘आधुनिक प्रणालीबाट वितरण गरिन्छ ।’ त्यसैगरी १ लाख १२ हजार नयाँ धारा जडान भइसकेका छन् । बाँकी रहेका धारा जडान कार्य पनि तीव्र रूपमा अघि बढिरहेको उनले बताए ।
उपत्यकाको ढल व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन ९ ठाउँमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिने उनले बताए । प्रशोधन केन्द्र निर्माण कार्य पनि अन्तिम चरणमा रहेको उनले जनाए ।
गुह्येश्वरी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । कोड्कु, सल्लाघारी र धोबीघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको उनले बताए । ढललाई पाइपमार्फत् प्रशोधन केन्द्रमा पु¥याई त्यसबाट फिल्टर गरिनेछ । ‘जलचर बाँच्नका लागि आवश्यक मात्रामा अक्सिजन रहेको सुनिश्चित गर्छौं,’ उनले भने, ‘वाग्मती नदीको माथिल्लो धापमा विभिन्न भौतिक संरचना निर्माण भइराखेका छन ।’ कान्तिपुरबाट साभार