ललितपुर, ०४ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले डाकेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला बुधबार काठमाडौंमा सुरु भएको छ ।
भेलाको अध्यक्षता खनालले गरेका छन् भने नेपाल विशेष अतिथि छन् । भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु पनि सहभागी छन् ।
तल्लो तहसम्मै समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको उक्त समूहले भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने जनाएको छ ।
अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएर एकताबद्ध हुन लागेको पार्टीमा गत फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै विभाजनतर्फ धकेलेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले त्यसको वस्तुस्थिति कार्यकर्तामाझ पु¥याउन भेला आयोजना गरेको हो ।
यो समूहले जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाएको छ । त्यसका लागि पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी छ ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने सचिव योगेश भट्टराईले बताए ।
उक्त भेलाप्रति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने आपत्ति जनाएको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा नेकपा (एमाले)ले कुनै भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएको हो ।