ललितपुर, २५ माघ । ललितपुरको पाटनढोकास्थित पाटन गेट आइतबारदेखि ‘वान वे’ हुने भएको छ । ट्राफिक जाम न्यूनिकरणका लागि ललितपुर महानगरपालिकाले बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म पाटन गेट एरिया वान वे गरेको हो।
महानगरपालिकाको भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महाशाखाको समन्वयमा पाटन ढोकामा हुलाक अगाडिको भागदेखि गेटतिरको क्षेत्र वान वे गरेको हो।
यो सँगै युएनपार्क, ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनगेटहुँदै आउने चार पाङ्ग्रे सवारी साधनले पाटनढोका बसपार्कको बाटो प्रयोग गर्नुपर्ने भएको छ।
सवारी साधनको चाप धेरै भएकाले यहाँ बाहिरबाट आउने पर्यटकसँगै अरू पैदल यात्रु र व्यवसायीलेसमेत सास्ती भोग्दै आएकोमा सवारी चाप हटाउन यस्तो निर्णय लिइएको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
‘ललितपुर महानगरपालिका भित्र सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चारपाङ्ग्रे सवारी साधनलाई आइतबारबाट वान वे गर्ने निर्णय गरेका हौं’, महर्जनले भने।
पहिले पहिले बग्गी गुड्ने र पैदल यात्रु हिँड्ने सडकमा हिजो आज सवारी चापले सहरकै सौन्दर्यमा कमि हुनुका साथै सवारी चापले सर्वासाधारणले खेपिरहेको हैरानी न्युनिकरणका लागि आफूहरूले यो निर्णय लिएको उनले भने।
पाटनढोका बकपार्क क्षेत्रमा पिक आवरमा एक मिनेटमा २३ वटा चारपाङ्ग्रे र ४८ वटासम्म मोटरसाईकल ओहोरदोहोर गर्छन्। पाटनढोका (गेट) को चौडाई १०.४ फिट मात्र भाएकोले दुई वटा सवारीसाधन एकै पटक पास हुँदैनन्। जसले गर्दा यहाँ लामो समयसम्म ट्राफिक जाममा फस्नुपर्ने यात्रुको गुनासो छ।
यो क्षेत्रमा स्कुल, क्याम्पस, ठूला ठूला सपिङ मल, बैंक होटल, रेष्टुरेन्ट भएकाले पनि स्वभाविकै रूपमा यो क्षेत्र निकै व्यस्त हुने गरेको छ।
पाटन क्याम्पस, रातोबंगला स्कुल, भाटभटेनी सुपरमार्केट, सडक विभाग, लबिम मल, इन्जिनियरिङ क्याम्पस, अशोक पार्टी प्यालेसलगायतका बढी भिड हुने क्षेत्र यहीँ ठाउँमा भएकाले सवारी चाप धेरै हुने गरेको छ।
यसबाहेक काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रका मानिसहरू पनि छोटो बाटोका लागि आवतजावज गर्न यो बाटो प्रयोग गर्ने गर्छन्।
नयाँ बानेश्वर, कोटेश्वर क्षेत्रबाट ललितपुरका पुल्चोक, जावलाखेल, भैसेपाटीलगायत बल्खु कीर्तिपुर, कलंकी जाने यात्रुले पनि युएन पार्कहुँदै यहीँ गेटको बाटो प्रयोग गर्ने गरेका छन्।
महानगरका अनुसार अब युएन पार्क तथा चाकुपाट हुँदै पाटन गेट भएर पुल्चोक निस्कने सवारीले पाटन बसपार्क भएर भाटभटेनी सुपरमार्केटहुँदै हरिहरभवन भएर जान सक्नेछन्।
लामो समयदेखि अत्याधिक सवारी जाम हुँदै आएको यो रूट भएर हिँड्ने सवारीले अब घन्टौंसम्म जाममा बस्नु नपर्ने ललिपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।
‘महानगरभित्र सडकको व्यवस्थापन नहुँदा सर्वसाधारणले दुःख पाएको गुनासो बढेपछि हामी सडक र ट्राफिक व्यवस्थापन गर्न लागेका हौं,’ प्रमुख हाछेथुले भने, ‘वान वे पनि सडक व्यवस्थापनको एउटा महत्वपूर्ण नीति हो। घन्टौं जाममा बस्नुभन्दा ४०० मिटर घुमेर आरामसाथ गन्तव्य पुग्न सकिने हुन्छ।’
उनले युएन पार्क, ज्वागल, चाकुपाटबाट धेरैजसो सवारी साधन छोटो बाटो भन्दै जावलाखेल, कुमारीपाटी, सातदोबाटो, एकान्तकुना, भैसेपाटी निस्कन यहीँ बाटो प्रयोग गर्नु र यो क्षेत्रमा ठूला ठूला भिड हुने स्कुल, कलेज, सपिङ मल भएकाले पनि सवारी जाम बढिरहेको बताए।
महानगरको यस्तो निर्णयले हजारौं मान्छेलाई समयमै गन्तब्यमा पु¥याउन सघाउने हाछेथुले दाबी गरे।
यसअघि नगर प्रहरी प्रमुख हाछेथु आफू ललितपुर ट्राफिक प्रहरी प्रमुख भएको बेला ग्वार्कोदेखि मंगलबजार क्षेत्र वान बनाएका थिए। ग्वार्कोबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटोमा ‘वान वे’ लागू भएसँगै यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ।
यसैबिच महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र सयौंको संख्यामा सडकहरु रहेको भन्दै कुन–कुन सडकलाई वान वे बनाउने भनेर अध्ययन गर्न ट्राफिक प्रहरीसमेतको संलग्नतामा एउटा कमिटि बनाइएको जानकारी दिए।
उनले बढ्दो सवारी चापका कारण भित्रि र बिजी सडकलाई क्रमशः वान वे घोषणा गर्दै लैजाने बताए।
यस्तै पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने तथा सवारी चाप बढी भएका यस्ता ठाउँमा एकतर्फी ‘वान वे’ लागू गर्न थालिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। ‘मुख्य गरेर दरबार क्षेत्र र त्यससँगै पर्यटक आगमन बढी हुने अरू क्षेत्रमा सवारी व्यवस्थापनको योजना बनाइएको छ,’ उनले भने।
महानगरपालिकाले यसअघि नै महनगरका भित्री सडकमा स्पिड ब्रेकर हटाइसकेको छ। सवारीको गति नियन्त्रण गर्न बनाइएको भए पनि स्पिड ब्रेकरका कारण दुर्घटना बढेको भन्ने जनगुनासो आएपछि महानगरले स्पिड ब्रेकर हटाएको हो।
महानगरले पुराना स्पिड ब्रेकर हटाइसकेको र नयाँ बन्ने र मर्मत हुने सडकमा स्पिड ब्रेकर नराखिने बताएको छ। त्यस बाहेक सडकमा बत्ति राख्ने, ट्राफिक संकेतहरु राख्ने लगायतका काम पनि गर्न लागिएको उनले बताए।
मेयर महर्जनले आफूहरू जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधि भएकाले जनताको दुःखलाई सम्बोधन गर्दै जाने बताए। ‘आफूले निर्वाचनकै बेला महनगरलाई नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यसैले महानगरका सडक व्यवस्थित नहुँदा जनताले दुःख पाएको गुनासो गरेपछि क्रमशः हामी सडक व्यवस्थित गर्न लागि परेका हौं।’
उनले महानगरपालिकालाई स्वच्छ शहर बनाउन उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिए। ‘सुन्दर र सभ्य समाज निर्माण गर्न सचेतना अभियानले सहयोग गर्नेछ । महानगरपालिकाका सम्पदा तथा सार्वजनिक क्षेत्रमा फोहर गर्नु भनेको असभ्यताको पराकाष्ठा हो । यस्ता स्थानमा फोहर नगर्न पटक–पटक आग्रह गरिएको छ।’
नगरप्रहरी प्रमुख सीताराम हाछेथुले महानगरपालिकाभित्र फुटपाथ अतिक्रमण र अव्यवस्थिततार सुधारका काम आफूहरुले गरिरहेको जानकारी दिए।
नगर प्रहरीले ११ सार्वजनिक स्थानमा बनाइएका घर(टहरासमेत भत्काइसकेको कार्यक्रममा जानकारी दिइएको थियो। महनगरपालिकाले त्यहाँका कुमारीपाटी, बटुकभैरव, कनिबहाल, महालक्ष्मीस्थान, लगनखेल, पाटन अस्पताल क्षेत्र,यातायात व्यवस्था कार्यालय परिसर, भनिमण्डल, जावलाखेल आदिमा दुईदेखि चार पाङ्ग्रे सवारीसाधन पार्किङ् गर्ने व्यसस्थासमेत गरेको सेतोपाटिले लेखेको छ ।
र याे पनि हेराै
- आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा
- विद्युत प्राधिकरणको लापरबाहीप्रति नगर प्रमुख धामीको आक्रोस
- आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा
- केपी ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपालको तयारी